चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।
उनका अनुसार शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैँडा हुन् ।
शनिबार डार्ट गरीएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको उनले जानकारी दिए । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैँडा स्थानान्तरणको काम गरिएको हो ।
निकुञ्जले गत वर्ष ६ गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।