मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार दिउँसो स्थानीय भागिरथ पुडासैनीले बारीमा रहेको रुख काट्ने क्रममा ढल्दा निजका नाति आदर्श च्यापिएका थिए ।
टाउको र दुवै हातमा गम्भीर चोट लागेका बालकलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय चौकीबाट प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । बालकको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।