रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो



काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ ।

करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको जनाइएको छ । बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य सुरू गरेका थिए । बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरू गरिएको हो ।

पनौती नगरको वडा नं १२ स्थित भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए ।

भुसालका अनुसार खोलाको सिमाङ्कन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापना कार्य भइरहेको छ । पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाइ रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको भुसालले बताए । उनका अनुसार टोलीले डिजिपिएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ ।

उक्त क्षेत्रको जमिनको यकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ । व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था यकिन गर्न निकै चुनौती भइरहेको भुसालले बताए । उनका अनुसार हाल करिब ६० कित्ताको पहिचान गरिसकिएको छ । आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने जनाइएको छ । स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्रै पुनःनिर्माणको काम सुरू हुनुपर्ने माग गर्दै आएका छन् ।

पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ ।

यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो । सम्बन्धित वडाबाट अनुगमन गरी वाढीपहिरोपीडित क्षेत्रको किटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिनेछ”, नगरप्रमुख रामशरण भण्डारीले भने ।

कर छुट निर्णय गरिएका बाढी प्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगरक्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन् । चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरो पीडितलाई उक्त सुविधा दिइने भएको हो ।

नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुङ्गा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरिएको छ । चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्ति कर बुझाइ सकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवजात शिशुको श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी

रविसँग एक करोड धरौटी माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं ।  राष्ट्रिय सभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे एडभाइजरी’ जारी

काठमाडौं ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एड्भाइजरी’ जारी