सरकारी वकील कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य भएः रवि लामिछाने
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध मिडिया ट्रायल गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले आफू हिरासतमा रहेको मौकामा सिंगो राज्य र केही मिडियाले भ्रमपूर्ण प्रचार गरिरहेको बताएका हुन् ।
पार्टी सभापति लामिछानेसँगको भेटबारे झाले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । लामिछानेको भनाई उदृत गर्दै झाले लेखेका छन्, ‘केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ। हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो। प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो। अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर/छेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन। पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ।’