काभ्रेको खानीखोलाका विपद पीडित बासिन्दा लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्न बाध्य



धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६, चनौटेको तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

बाढीले सबै बस्ती बगाएपछि चनौटेका फूलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेका छन् । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उनले बताए । ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आएका छन् । चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उनीसँगै अरु ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका छन् ।

‘११ असोज राति बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ,’ फूलबहादुरले भने, ‘खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।’ बाह्र जनाको परिवार रहेको उनको सात जनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढीले बगाएको छ । बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्काल आश्रय स्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।

गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् । खानीखोला गाउँपालिका–६ का राजन अधिकारीले सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दै आएको बताए ।

‘नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्,’ उनले भने । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बागमती खोलामा आएको बाढीबाट खानीखोलाका दुईवटा बस्ती पूर्ण रूपमा बगाएको बताए । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नागरिकको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित छः प्रहरी महानिरीक्षक कुँवर

  काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम

बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

  धुलिखेल । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

सरकार कामचलाउ जस्तो भएको रास्वपाको आरोप, संसदको विशेष अधिवेशन बोलाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

घरको आर्थिक स्थिति सुधार्न विदेसिँदै आमाहरु

मधु शाही, काठमाडौँ । दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा