कंक्रिटको दहबाट चोभारको चर्चा
डा. गोविन्दशरण उपाध्याय ।
हिन्दूहरूले भन्छन्, ‘काठमाडौंको दहबाट पानीलाई निकास दिन द्वारकाबाट तीर्थयात्रा गर्न आएका श्रीकृष्णले चोभारको डाँडो श्रीकृष्णले काटेका हुन् । बौद्धहरूको विश्वासमा काठमाडौं उपत्यकामा मानववस्ती बसाउन मन्जुश्रीले चोभारको डाँडो काटेका हुन् ।’ यी दूवै कथाहरू काठमाडौंका रैथानेहरूले सुनेका छन् र अहिले मैले जानकरी दिएपछि पढ्नेले सुन्नु हुनेछ ।आज काठमाडौं दह त छ तर पानीको होइन ईंटा, सिमेन्ट र फलामको । विपद व्यबस्थापनका महानिर्देशकले प्रश्न गरेका छन् “केवल १०६ मिमी पानी पर्दा यो हालत छ, ४०० मिमी पानी पर्यो भने के होला ? प्रश्न जायज हो । तर यी सिमेन्टका कंक्रिटहरूको दह बनाउन इजाजत दिने सरकारी निकाय नै हो र उहाँको चेतावनी महत्वपूर्ण छ ।
खोला रोकेर कंक्रिटका संरचना बनाउन अनुमति दिने नेपाल सरकारका अधिकारीहरूलाई स्वर्ग वा नर्कबाट तानेर भए पनि कारबाही गर्नुपर्छ भने खोलालाई रोक्ने संरचनाहरूलाई प्राकृतिक रूपमा बग्न दिन हदैसम्मको प्रक्रिया चाल्नुपर्छ । तर बाग्मती नै ओगटेर अवैध बसेकाहरूको हिमायती सरकारले, त्यसो नगर्ने निश्चित छ । एक जना निर्दोषको ज्यान गइसकेको छ तर सरकारी झोलेहरू नदीहरूलाई छोड्न तयार छैनन् । ‘ज्यान भन्दा सित्तैको सम्पत्तिको माया’ भन्ने यही हो ।
अन्त्यमा, ४०० मिमी पानी पर्दैन भन्ने केही ग्यारेण्टी छैन । खोलाको छेउमा उभिएका कंक्रिटका घर होस् वा खोलालाई नपत्याएर झुपडी बनाउने होउन्, घरसँगै बग्ने छैनन् भन्ने पनि ग्यारेण्टी छैन । मान्छे नै मरेपछि सरकारले दिने मुआब्जाको के काम ? बरू, कृष्ण वा मन्जुश्रीले काटेर बनाएको बाटोमा भर नपरेर त्यो डाँडो अझै चौडा बनाउनेतिर लागौं । कुनै दिन २०–४९ वटा घर र ठूलाठूला बसहरू बगेर चौभारको खोंचमा अड्किए भने मन्जुश्री ध्यानमै मग्न रहने छन्, काठमाडौंमा यमराजको ताण्डवनृत्य हुनेछ । राम, कृष्ण बुद्ध, मन्जुश्री, महावीर काठमाडौंलाई जोगाउन आउने छैनन् ।