पानी दान, महादान
डा. गोविन्दशरण उपाध्याय ।
तराई मधेशमा अत्याधिक गर्मीले जीवन कष्टकर बन्दै छ । यो गर्मीमा खाने पानीको व्यबस्था गर्नु सबैभन्दा बढी पुण्यको काम हो । शहर होस् वा गाउँ, सबैतिर गर्मीले दुख दिएको छ । पहाडी भेकमा पनि गर्मीको प्रकोप पहिले भन्दा बढी नै छ । बालबालिका, रोगी, वृद्धबृद्धाहरूका लागि गर्मी होस् वा जाडो निकै कष्टकर हुन्छ ।
यस्तो अवस्थामामा आफ्नो घरको आँगनमा होस् वा पेटीमा माटों वा अन्य भाँडोमा खानेपानीसंगै एउटा गिलास वा लोहोटा राखिदिनुस् । प्यासो बटुवाले पानी खान पाउँन् । यसैगरी आफ्नो आगन वा छतमा ठूलो मुखभएको भाँडामा पानी राख्न नविर्सौं । स–साना भंगेराजातका चराहरू गर्मी र प्यासले उड्दाउड्दै खसेर मरेको मैले नै धेरै पटक देखेको छु । हामी/तपाईंले राखिदिएको पानीले तिनको ज्यान जोगिन सक्छ ।
म केटाकेटी हुँदा बाटोघाटोमा पानीले भरिका घैंटो हुन्थे । कहींकहीं त मान्छे नै खटाएर पानी ख्वाउने गरिन्थ्यो । पशुहरूका लागि काठको डुँडमा पानी राखिन्थ्यो । समय बदलिएपछि सबै बदलियो । पशुपक्षीका लागि मात्र होइन मान्छेका लागि पानी खानेपानी पाउन मुस्किल परिरहेको छ ।
सबै बटुवासँग २०–३० रुपैयाको बोतलको पानी किनेर खाने क्षमता हुँदैन । किनेको बोतल बाँडेर साध्य पनि हुँदैन । सक्नेले गरूँन् तर सबैले सक्ने कुरा घर आगाडी खानेपानीको भाँडो राख्नु नै हो ।खासगरी, मधेशतराईका स्थानीय सरकार तथा समाजसेवीआदिले पनि यो काम सजिलै गर्न सक्छन् । यसका लागि सरकारी बजेट न कुरौं । जतिसक्दो आफू गरौँ र अरूलाई गर्न प्रेरित गरौँ । यो भन्दा उत्तम समाजसेवा अर्को हुनैसक्दैन । विदेशमा रहेका नेपालीहरूले पनि पानीको सेवाका लागि आ–आफ्नो ठाउँमा केही रकम पठाएर ‘पानी दान’ गर्न सक्नुहुन्छ ।