सञ्चारमन्त्री शर्माले समाचारमा सफलताका कथा पढ्ने चाहना राखेपछि…



काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले मुलुकमा गणतन्त्र स्थापनाको १६ वर्ष पुगेको अवसरमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी सुरू गरेको छ । एक समारोहका बीच बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको शुभारम्भ गरिन् ।

त्यसअवसरमा उनले भनेकी थिइन्,“गणतन्त्रले केही गर्न सकेन भनेर एक प्रकारले नकारात्मक भाष्य सिर्जना गरिएको छ तर सामाजिक न्याय, समृद्धि तथा सुशासन र पूर्वाधार, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि भएका छन् । सिंहदरबार र संसद् भवन कहिल्यै नदेखेका वर्ग, समुदाय र महिलाको प्रतिनिधित्व सुनिश्चित भई आफ्ना आवाज उठाउने अवस्था बनेको छ । यी अभूतपूर्व उपलब्धि र तथ्यलाई प्रचारप्रसार गरी नयाँ पुस्तामा सकारात्मक भाव प्रवाह गर्नुपर्ने खाँचो छ ।”

प्रदर्शनीमा राखिएका दार्चुलाको मार्मादेखि पाँचथरको धार्पुसम्मका ९५ तस्बिर हेरेपछि प्रफुल्ल हुनुभएका मन्त्री शर्माले देश कति बन्यो र बन्नसक्छ भन्ने विषयमा बहस गर्न सकिए पनि गणतन्त्र स्थापनापछि विकास पूर्वाधार सञ्चारप्रविधिलगायत क्षेत्रमा नेपाल निकै अगाडि बढिसकेको बताइन् । “तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले हातहातमा मोबाइल र इन्टरनेटको कुरा उठाउँदा धेरैले पत्याएका थिएनन् । अहिले गाउँगाउँमा इन्टरनेट र हातहातमा मोबाइललगायतका सञ्चारसाधन छन्, कल्पना गर्नुस् त गणतन्त्रस्थापना अघिको अवस्था ?”, उनले भनिन् ।

फोटो प्रदर्शनी उद्घाटन गरेर पाहुना कक्षमा विश्राम गर्दैगर्दा त उनले गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगतिबारे थुप्रै प्रसंग उठाइन् । त्यसमा गणतन्त्रको उपलब्धि र त्यसले महिला तथा सीमान्तकृत वर्गप्रतिको चिन्तन बढी झल्किन्थ्यो ।

उनले विकासका साथै सञ्चारमाध्यमले खेल्ने भूमिका र प्रविधिबारे पनि खुलेर कुरा गरिन् । राससका अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतल महतोमाझ आफ्ना अन्तरभावना यसरी साटिन्, “मैले योगमाया शब्दमा पढेकी छु तर दृश्यमा अनुभूति गर्न पाएकी छैन । विषयवस्तुको गहिरो अनुभूतिका लागि त तस्बिर र श्रव्यदृश्य अत्यन्त प्रभावकारी हुन्छ । राससले गणतन्त्र दिवसका सन्दर्भमा विकासका गतिविधिलाई तस्विरमा देखाएर महसुस गराएजस्तै” उनले अगाडि भनिन्,“यसरी नै नेपालका उपलब्धि, इतिहास र ऐतिहासिक पक्षको दस्तावेज बनाउनसके कस्तो होला ?”

गणतन्त्रले ल्याएको उपलब्धिका विषयमा कुरा गर्दैगर्दा उनले तत्कालीन जनयुद्धमा हतियार बोक्ने महिला र अहिले नेपाली सेनालगायत सुरक्षा निकायमा महिला उपस्थितिका विषयमा समेत उल्लेख गरिन् ।

“जनयुद्धमा महिला बन्दुक बोकेर जङ्गल नपसेको भए आज सेनामा महिलाको सङ्ख्या देख्न सायद मुस्किलै हुन्थ्यो होला”, मन्त्री शर्माले राससका अध्यक्ष झातिर हेर्दै थपिन्,“तर दुःखको कुरा हामीले यस्ता थुप्रै इतिहास रचेका महिलाको दस्तावेज तयार गर्न सकेका छैनौँ ।”

विसं २००७ सालयता मुलुकमा थुप्रै ऐतिहासिक क्रान्ति भए । नालापानीमा पूर्खाको योगदानदेखि गणतन्त्रसम्म आइपुग्दाका महान घटना र योद्धाको योगदान श्रद्धा गर्न लगायक छन् । भारतले अङ्ग्रेजको राज्य हटाउन गरेको सङ्घर्ष इतिहासमा निकै रोचक ढङ्गले ‘ग्लोरीफाइ’ गरेको छ ।

त्यसैगरी ‘झासिकी रानी’ को योेगदानको चर्चा त्यत्तिकै छ । उहाँबारे चलचित्र, पुस्तक र वृत्तचित्र बनाएको छ । यी प्रशङ्ग उप्काउँदै उनले प्रश्न गरिन्,“हामीले नेपालमा भएका थुप्रै इतिहासलाई जीवन्त राख्न किन चुकिरहेका छौँ ? झासिकी रानीजस्ता बहादुर र साहसी रानी÷महिला नेपालको भूमिमा पनि त जन्मिएका छन् । ती महिला पात्र नखोजिएका मात्रै हुन् ।”

उनले गणतन्त्रको उदयले समाजको पिँधमा रहेका थुप्रै महिला सङ्घर्ष गरेरमाथि उठेका बारेमा पनि आफ्नो धारणा राखिन् । उनले समाजमा नकारात्मकतामात्र नभइ सकारात्मक व्यक्तिको खोजीको अभाव खड्किएको बताइन् । “मिडिया धेरै नकारात्मक हुदै गएका छन्, राससले यस्ता सफलताका कथा उजागर ल्याइदिए हुन्थ्यो नि”, अध्यक्ष झातर्फ हेर्दै उनले भनिन् ।

नजिकै बसेका मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई यो कुरा निकै चित्त बुझे छ । उनले मन्त्री शर्माको बोलीमा लय मिलाउँदै स्थानीय तहमा सामान्य मानिसले गरेका सङ्घर्ष र पुर्याएका सकारात्मक कामको कथा लेख्न सकिने बताए । फेरि मन्त्री शर्माले थपिन्,“ सकारात्मक कथाको प्रभावले समाजलाई सफलताको बाटोतर्फ उत्प्रेरित गर्छ, जस्तैः हामीले युवा विदेशिए भनेरमात्रै लेख्यौँ र देख्यौँ तर यही भएका युवा र विदेशबाट फर्केर स्वदेशमै प्रगति गरेका युवा देखेनौ र उनीहरुका कथा लेख्न छुटाइरहेका छौँ । मलाई त यस्ता समाचार निकै पढनीय लाग्छन् ।”

मन्त्रीको जिज्ञासा मेटाउँदै राससका अध्यक्ष झाले सीमान्तकृत र भूइँ मान्छेका कथा टिप्न रासस सधैँ अग्रसर रहेकोे बताए । उनले इतिहासका विभिन्न कालखण्डबारे दस्तावेजिकरण गर्न राससले ‘मिडिया सङ्ग्रालय’ खोल्ने योजना सुनाए । “राससले धेरै कालखण्ड भोगेर, बुझेर र विभिन्न अभ्यास गरेर आएको छ, तिनको सङ्ग्रहको कुरा त छँदैछ । त्यसका अतिरिक्त आमसञ्चारका क्षेत्रमा भएका एतिहासिक दस्तावेज पनि सङ्ग्रहालयमा राख्ने गरी अगाडि बढ्छौँ”, उनले भने ।

महाप्रबन्धक सिद्धराज राईले पनि राससले इतिहासको स्मरण र वर्तमानलाई थप गर्बिलो बनाउन प्रयास गरिरहेको र त्यसको एउटा अभ्यासको रूपमा ‘रासससँग सांसद’ शीर्षकको श्रृङ्खला भएको बताए ।

यस श्रृङ्खलामा सीमान्तकृत सांसदलाई बढी प्राथमिकता दिनुपर्ने मन्त्री शर्माको सुझाव थियो । “गणतन्त्रको मूलमर्म भनेकै भूइँलाई उकास्नु हो । यद्दपि राससको विकास नै आफैँमा गणतन्त्रको प्रतिफल हो । हातेमेसिन र एउटा कोठाबाट सेवा सुरू गरेको यो संस्था अहिले प्रविधिमैत्री हुनु र समावेशी नेपालको चाहनाअनुसार अगाडि बढ्नुले पनि परिवर्तनको उचाइ टेकेको अनुभूति हुन्छ । यसलाई थप परिस्कृत र उचाइमा लैजानुपर्छ”, मन्त्री शर्माको भनाइ थियो ।

भूइँतह र भूइँमान्छेका कुरा त भइहाले देशको एकमात्र समाचार समितिले सकेसम्म देशभरका मिडियालाई निःशुल्क समाचार वितरण गर्न पाए हुन्थ्यो भन्ने पनि उनको चाहना छ । अन्तर्राष्ट्रियस्तरका समाचार समितिसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने रासस व्यवस्थापनको परिकल्पनाजस्तै उहाँको समर्थन छ । यस्तै योजना, चाहना र परिकल्पनाका कुरा भइरहँदा मन्त्री शर्माले सहसचिव ठाकुरतिर हेरेर मुस्कुराउँदै भनिन् “योजना त धेरै छन्, गर्नु र पुग्नुपर्ने धेरै पर छ तर कुरा उही बजेटमै आएर रोकिन्छ !”

कुरो बजेटमा आएर अड्कियो । मन्त्रीसहित रासस अध्यक्ष झा, महाप्रबन्धक राईलगायत सहभागी एकैपटक मन्ध मुस्कुराए । यद्दपि अनौपचारिक छलफलको निचोड भने राससलाई सुन्दर, समृद्धि र जनताको सूचनाको पहुँचलाई विस्तार गर्ने थियो । यही अभिलासामा छलफल टुङ्गियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए

तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको