तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं



नारायण गाउँले ।
हाम्रा शहरहरू खाड़ीको मरुभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण के होला ? पहाड़ी उपत्यका काठमाडौं र मरुभूमि शहर रियादको तापक्रम उस्तै उस्तै हुन थाल्यो । भरतपुर, भैरहवा, जनकपुर, नेपालगञ्ज लगायतका शहरहरूको तापक्रम अरबका आबुधाबी, रियाद र दुबई भन्दा निकै बढ़ी छ । आज विराटनगरको तापक्रम ४० डिग्री देखिन्छ भने आबुधाबीको अधिकतम तापक्रम जम्मा ३६ डिग्री रहेछ । हामी हिमालयको काखमा छौं, नदीहरूले घेरिएका छौं, जङ्गलहरू पनि छन् । तर बर्सेनि हाम्रो तापक्रम डरलाग्दो दरले बढ्दो छ । तराईका शहरमा यतिबेला तातो हावा बग्दै छ । चुरे क्षेत्रमा १२ महिना खोलाहरू बग्थे, कहिल्यै नसुक्ने पानीका मूलहरू थिए । हाम्रो पुस्ता त्यही खोलामा पौड़ी खेल्दै हुर्कियो, खोलापारिका मूल र चुहाडीको पानी पिएर बढ्यो । नदी र खोलाहरू सफा थिए । पहाड़–तराई गर्नेहरू खोलाछेउमा विश्राम गर्थे, अँजुलिमा उभाएर त्यही पानी पिउँथे । ती खोलामा स्थानीय साधनस्रोत र जनशक्तिकै भरमा बाँध बाँधेर ठूला–ठूला कुलाहरू चल्थे ।

आज खोलाका डामहरू मात्रै छन्, ती पनि कति त घरहरूले पुरिएर नक्सामा मात्रै छन् । केही वर्षअघि सम्म काठमाडौंमा लामखुट्टे र झिङ्गा भेट्न मुश्किल हुन्थ्यो । पङ्खाको त कल्पना पनि थिएन । घरहरूमा त्यसका लागि ‘वायरिंग’ नै थिएन । चिसो मौसमका कारण आँप फल्दैनथ्यो । आज सबै कुरा भेटिन्छ । त्यत्ति मात्रै होइन, मानव–स्वास्थ्यका लागि विश्वकै सबैभन्दा खतरनाक शहर बनेको छ । कुनै एउटा नदी छैन जसमा पानी जस्तै देखिने पानी बगोस् ! नदी नै नदीको देश र शहरमा धारामा पानी आउँदैन ।

अरू त छोड्नुस्, हाम्रा हिमाल पनि सेता रहिरहलान् भन्ने आशा बाँकी छैन । कतिमा त हिउँ नै पर्न छोड्यो । ती काला र अग्ला पहाड़जस्ता देखिन्छन् । आज विश्व नै ठूलो वातावरणीय सङ्कटतिर उन्मुख देखिन्छ । त्यसमाथि अव्यवस्थित शहरीकरण, आवश्यकताभन्दा ठूला कंक्रीटका घर र संरचनाहरू, भूमिगत जलको अत्यधिक दोहनलगायतका हाम्रा अविवेकी कदमहरूले गर्दा हजार वर्षपछि होइन, आउने पुस्ताकै लागि पनि बाँच्न योग्य वातावरण हामीले दिन नसक्ने हो कि जस्तो देखिन्छ ।

हामी यही विश्वको एउटा सानो अङ्ग हौं । हामीले या हामीले मात्रै गरेर हुने सबै कुरा छैनन् । थोरै होस् तर हामीलाई प्रत्यक्ष असर पारिरहेका क्षेत्रमा हामीले नै गर्नुपर्छ । उदाहरण या सिक्नका लागि नर्वे उपयुक्त हुन सक्छ । नर्वे प्राकृतिक ग्यासको विश्वकै चौथो ठूलो विक्रेता हो । अमेरिका, रसिया र कतारपछि उसैको नाम आउँछ । विश्वमा पेट्रोलियम खपत घट्यो भने उसको अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्छ । र पनि त्यहाँ नयाँ तेल खानीहरूमा प्रतिबन्ध लगाउने बहस र काम सुरु भएको छ । अबको एक दुई वर्षभित्रै पेट्रोल र डिजेलबाट चल्ने कारहरूको आयात या बिक्री बन्द गर्ने राष्ट्रिय सहमति बनेको छ । प्रदूषणको एउटा घटक यो क्षेत्र पनि हो ।

नेपालले त यो सजिलै गर्न सक्छ । हामीसँग कार या गाड़ीको उत्पादन नै छैन । पैसा तिरेर किन्नै पर्ने भएपछि इलेक्ट्रिक मात्रै किने भयो । पैसा तिरेर प्रदूषण किन किन्नु ? राज्यले खर्च गर्न पनि पर्दैन । एउटा नीति बनाए पुग्यो । चार्जर त बजार आफैले बनाउँछ । आफ्नो कार उद्योगको भविष्य के होला भन्ने चिन्ता पनि भएन । दोस्रो, हामीसँग त पेट्रोलको एक थोपा उत्पादन पनि छैन । राष्ट्रिय अर्थतन्त्रमा असर पर्ला भन्ने पनि छैन । बरु हाम्रो कुल निर्यातभन्दा दोब्बर त पेट्रोलियम आयातमै खर्च हुने रहेछ । त्यो आधा बच्यो भने पनि व्यापारघाटा कम हुन्छ र हामीले फेर्ने सास स्वच्छ हुन्छ । तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं ।

जलाधार क्षेत्र संरक्षण गर्ने, देशैभरि मध्यमस्तरका जलाशय निर्माण गर्ने, ढढेलो नियन्त्रणमा स्थानीय स्रोत–साधन र प्रविधि गाँसेर प्रभावकारी योजना बनाउने, भूमिगत जलको अतिदोहन रोक्न ठोस योजना ल्याउने, बिजुली बेच्ने लोकप्रिय नाराभन्दा बिजुलीको उपयोग बढ़ाएर पेट्रोलियम आयात घटाउने, एउटा घर बराबर दुई वटा रूख हुने गरी अबको बस्ती प्लानिङ गर्ने, फुटपाथ र अनिवार्य ढल निकासको व्यवस्था गर्ने, गर्मी र सुख्खामा पनि बाँच्नसक्ने घाँसहरू खाली ठाउँमा रोपेर धुलो कम गर्ने लगायतका साना र आफ्नै बलबुताका काम तुरन्त गर्न पर्ने हो । तर सत्ता होस् कि प्रतिपक्ष, हाम्रो ध्यान र साधनस्रोत आफ्नै जयगान र पेटपूजामा सीमित हुँदासम्म के आशा गर्नु र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद , २५ देशका विशेषज्ञ सहभागी हुने

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा

संखुवासभाबाट चीनसँग जोडिएको किमाथाङ्का नाका आगामी शनिबारदेखि गतेदेखि खुला हुने

  किमाथाङ्का । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको

४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’

म्याग्दी । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने