तीर्थ थापा १८ वर्षदेखि चलचित्र कर्मबाट किन टाढिनु भयो ?



काठमाडौँ । तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन् । उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेका थिए । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा छन् ।

विसं २०६२/६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले त्यसपछि नेपाल सांस्कृतिक सङ्घको स्थापना गरे । पछिल्लो समय उनी कलाकारिता छाडेर राजनीतिमा सक्रिय छन् । तर, थापालाई कलाकारितामा फर्किन मन नभएको भने होइन ।

“मैले फाट्टफुट्ट रुपमा अभिनय गरेँ । मैले निर्देशन गरेका चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिकरुपमा भने असफल भए । त्यो यात्रामा चलचित्रकर्मीलाई उपेक्षा भइरहेको देखेर सङ्गठित भएर आवाज उठाउनु पर्छ भन्ने लाग्यो । त्यही भएर सांस्कृतिक सङ्घको स्थापना गरेर त्यसको नेतृत्व गरेँ”, अभिनेता थापाले भने ।

बाल्यकालदेखि नै राजनीतिमा जोडिएका अभिनेता थापाले जनआन्दोलनमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गरे । नेपाल सांस्कृतिक सङ्घको स्थापना २०६२ सालमा गरिएको हो । तर यसको गतिविधिको सुरुआत भने २०५४ सालदेखि नै भएको थियो । सोही समयदेखि अभिनेता थापाले लोकतान्त्रिक चलचित्रकर्मीलाई सङ्गठित गर्दै आएका हुन् । यद्यपि सुरुवाती समयमा उनलाई कसैको साथ प्राप्त भएन ।

“म आन्दोलनमा एक्लै पुग्थे । स्कुले जीवनदेखि नै अधिकारका लागि आवाज उठाउने भएकाले नेता र राज्यलाई आफ्नो आवाज बलियोरुपमा सुनाउनु पर्छ भनेर यस क्षेत्रको उपस्थिति देखाउँथे । तर, मलाई राजनीति गर्यौ भन्ने आरोप पनि लाग्ने गथ्र्याे । विस्तारै ती अधिकारका आवाज हुन् भन्ने बुझेर चलचित्रकर्मी जोडिनुभयो । म बाल्यकालदेखि नै नेपाल विद्यार्थी सङ्घसँग जोडिएकाले पनि लोकतान्त्रिक पार्टीले हाम्रो आवाज सुन्छ भन्ने लागेको हो”, अभिनेता थापाले भने ।

अहिलेसम्म थापाले राजनीतिज्ञका रुपमा अवसर पाएका छैनन् । चुनाव र प्रचारप्रसारमा मात्र आफूलगायतका कलाकार, संस्कृतिकर्मीको प्रयोग हुने गरेको उनले बुझेका छन् । आफ्नो क्षेत्रको प्रतिनिधित्व पार्टीमा नभएको उनले आभास गर्न थालेका छन् ।

“पार्टीमा विद्यार्थी, तरुण, किसानलगायत नेतृत्वमा पुगेकाहरू छन् । उनीहरूको प्राथमिकतामा आफ्नै सङ्गठनका व्यक्ति पर्छन् । हाम्रो उपस्थिति नभएर पनि हाम्रो आवाज बलियोसँग सुनिएको छैन”, अभिनेता थापाले भने, “म कांग्रेस महासमिति सदस्य भएँ । मैले केन्द्रीय सदस्यका रुपमा चुनाव लड्ने सोच पनि बनाएँ । तर, कुनै समूहबाट पनि संस्कृतिकर्मीका लागि सोचिएन । हामी चाहिँदा देखाउने र त्यसपछि थन्क्याइने गहना भयौँ ।”

विश्वभर चलचित्रको माध्यमबाट पुराना घटनाक्रम वा राष्ट्रवादी व्यक्तिको योगदानलाई नयाँपुस्तासम्म ल्याउने गरिएको छ । विशेषतः भारतमा पछिल्लो समय यस्ता चलचित्र बन्ने गरेका छन् । यद्यपि नेपालमा भने यो क्रम न्यून छ । बनेका चलचित्रले पनि दर्शकको साथ पाएका छैनन् । ऐतिहासिक विषयवस्तुलाई पर्दामा ल्याउँदा उचित अनुसन्धान र गृहकार्य नभई लगानीकर्ताका भरमा ल्याइएको बुझाइ अभिनेता थापाको छ ।

‘वीर गणेशमान’र ‘तीन घुम्ती’जस्ता चलचित्रसँग उनी सन्तुष्ट छैनन् । ती चलचित्र निर्माण गर्न पर्याप्त मेहनत नपुगेको उनले बताए । “हामीले राष्ट्र निर्माणमा योगदान दिएका व्यक्तिको कथालाई निकै सरल किसिमले ल्याइरहेका छौँ । नयाँपुस्तालाई दर्शक बनाउने गरी मेहनत गरेको देखिएको छैन । ती चलचित्रहरू निर्माणका लागि मात्र बनेका छन्”, अभिनेता थापाले भने ।

अभिनेता थापालाई त्यस्ता चलचित्र निर्माण गर्ने सोच नआएको पनि होइन । तर त्यसमा व्यक्तिगतभन्दा पनि राज्यको लगानी हुनुपर्नेमा उनको जोड छ । “निजीस्तरबाट त्यस्ता चलचित्र निर्माण हुँदा व्यावसायिक जोखिम हुन्छ । त्यसैले त्यसलाई निर्माण गर्न राज्यले सघाउनुपर्छ । निर्देशकले व्यावसायिक दायित्व बहन नगरी काम गर्ने हो भने हाम्रा पुराना कथालाई ल्याउन सकिन्छ”, उनले भने ।

अभिनेता थापा पछिल्लो समय राजनीतिसँगै चलचित्रकर्ममा सक्रियता बढाउने सोचमा छन् । उनले केही विषयलाई छनोट गरेर काम पनि सुरु गरेका छन् । तर, बढ्दो लागत र अपुग तयारीले गृहकार्यमै रहेको उनले बताए ।

“मैले चलचित्र छाडेको दुई दशक हुन लाग्यो । प्राविधिकसँगै दर्शकको सोचमा पनि परिवर्तन आएको छ । बजारलाई अनुसन्धान गरेर मात्र म यस कर्ममा फर्किन्छु । तर, अब चलचित्र निर्माण गर्ने र अभिनय गर्ने इच्छा छ । त्यसतर्फ पनि लाग्छु”, अभिनेता थापाले भने । उनले सांस्कृतिक सङ्घलाई महासङ्घ बनाएका छन् । विधागतरुपमा सहभागिता बढेपछि बनेको महासङ्घमा नेतृत्व गर्ने कि अरुलाई जिम्मा लगाउने भन्ने प्रश्न उनीसामु आइरहन्छ । आफूले १८ वर्षदेखि दिँदैआएको सङ्घको नेतृत्व अब अरुलाई सुम्पिने सोचमा अभिनेता थापा छन् । तर उनले सम्मानजनक अस्तित्वको खोजि गरिरहेका छन् ।

“मैले यतिलामो समय दिँदा सङ्घकै साथीहरूलाई पनि मेरो सम्मानजनकरुपमा पार्टीमा स्थान होस् भन्ने लागेको छ । म पनि त्यही खोजिरहेको छु । आफैँले नेतृत्व गर्ने कि अरुलाई दिने । यसमा साथीहरूसँग छलफल गरिरहेको छु”, अभिनेता थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश