महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक



काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महाराजगञ्ज-बसुन्धरा -सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो ।

अवस्थाका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भनिन्, ‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेका थियौँ । यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ ।’

आइतबारसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् ।

तीनवटामध्ये पनि विपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर छ । यतिसम्मकि अस्पतालका निर्देशक डा. भीम आचार्यलाई फोहोर व्यवस्थापनको फोकल पर्सन को हो, अटोक्लेभ कसले चलाउँछ, जोखिमयुक्त फोहोर कहाँ भण्डारण गरिन्छ भन्ने सूचना पनि थिएन ।

अस्पतालबाट जम्मा भएको फोहोर क्यान्टिन नजिकैको सानो कोठामा बोरामा राखिएको थियो । यो १ सय वेडको अस्पताल हो । फोहोर वर्गीकरणका लागि राखिएका बाल्टिनमा मिश्रित फोहोर भेटिएको थियो । अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको वा कसैलाई थप जिम्मेवारी दिएको भेटिएन । अभिलेख त परको कुरा । रंग संकेतका बारेमा अस्पतालका कसैमा सचेतना वा जानकारी भएको देखिएन । महाराजगञ्ज कान्ति बाल अस्पतालबाट ओरालो झर्दै चक्रपथतर्फ लाग्दा राजमार्ग नपुग्दै यो अस्पतालमा पुगिन्छ ।

यो अस्पतालबाट सामाखुशीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । यो अस्पतालमा १५० वटा डेन्टल चेयर र १ सय वटा वेड छन् । यो काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण अस्पताल पनि हो । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले फोहोर भण्डारण र निर्मलीकरणका लागि निर्माण हुँदै गरेको ट्रष्टमा लगे । उनले महानगरपालिकाको पछिल्लो सक्रियताले आफूहरुलाई पनि जिम्मेवार महसुस गराएको र आफैँ पनि काम गरौँ भन्ने भावना जगाएको उल्लेख गरे ।

अस्पतालको डेन्टल सेवाबाट दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेको छ । उत्पादित सुइहरु ग्यालिनमा हालेर राखिएको छ । फोहोर वर्गीकरणको अभ्यास जानकारी लिने एक कर्मचारीले भने, ‘हामीले यहाँ छुट््याए पनि संकलन गर्न आउनेहरुले मिसाउने गरेको देखेपछि हामीले वर्गीकरण गर्न छाडेका हौँ ।’

बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । नर्सिङ् ट्रलीमा ८ वटा बकेट हुनु पर्नेमा २ वटा मात्र देखिए । प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभइ प्रयोगशालाका सामानलाई शुद्धिकरण गर्न प्रयोग भएको छ । वर्गीकरण भएको फोहोर राख्न छुट्टाछुट्टै कोठा बनाइएको छ ।

यति प्रयास भएर पनि अटोक्लेभ विग्रिएका कारण संक्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएन । यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर

काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

चितवन । चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक