सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका २५३ पोष्ट खडा



काठमाडौँ । नेपाल र भारतीय सुरक्षा सङ्गठनको  समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय  सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किलोमिटर दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपालद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले  सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको  करिब १३.३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए ।

त्यस क्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइयो । दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ ।

जोर अङ्कको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट  खडा गरिएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच  एक हजार आठ सय ८० किमी लामो सीमा छ । दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्त र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्साङ्कन भए पनि हाल ५३ प्रतिशतमात्र गाडिएको छ ।

भारतमा अङ्ग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका नौ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो । त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ । ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा  एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छ । मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ ।

बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र  विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ । सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ । त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षरोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन् ।

अर्धसैनिक बलका रुपमा रहेको सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैविक प्रकोप एवं विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनको जिम्मेवारीमा रही महत्वपूर्ण कार्य गर्दै आएको छ । बलले यही माघ ९ गते आफ्नो २३औँ स्थापना दिवस मनाउँदैछ ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी उपस्थिति बढाउँदै लैजाने क्रममा पछिल्लो पटक २५ वटा सीमा सुरक्षा पोष्ट थप गरेको  थियो । सीमा सुरक्षामा खटिएका युनिटको चेन अफ कमान्ड सुदृढ तुल्याउन तथा थप प्रभावकारी परिचालन गर्न ४५ वटा  सीमा पोष्टलाई नायब उपरीक्षकको नेतृत्व रहने गरी सीमा सुरक्षा गुल्म स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच हुँदै आएको संयुक्त सीमा गस्तीलाई निरन्तरता दिँदै समन्वय र सहकार्यलाई थप बढाउन मैत्रीपूर्ण खेलकुद तथा समन्वय बैठकसमेत आयोजना हुँदैआएको छ ।

नेपाल–भारत तथा नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भको विस्तृत विवरण जिआईएस प्रविधिद्वारा एपीएफ बोडर पिलर म्यानेज्मेन्ट सिस्टम राख्ने कार्य भइरहेको पनि प्रवक्ता खड्काले बताए ।

राज्यको भरपर्दाे सुरक्षा निकायका रुपमा कानुनी व्यवस्था कायम राख्न मानवअधिकारको सम्मान गर्दै शान्तिसुरक्षा तथा सुव्यवस्थाका लागि बल अहोरात्र खटिरहेको सङ्गठनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

  काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा

खोटाङमा ‘रक क्लाइम्बिङ’ गर्नेक्रममा लडेका युवकको उपचारका क्रममा मृत्यु

खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

  काठमाडौँ ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी