अब पनि नचेत्ने हो भने यो भन्दा ठूलो विपद निम्तन सक्छ
डा. बाबुराम भट्टराई ।
जाजरकोट भूकम्पपछि तत्काल राज्य र समाजका सबै अंग तत्कालीन उद्धार/राहत/पुनर्स्थापनाका काममा केन्द्रित हुनुपर्ने स्वतःसिद्ध छ। हामी सबै त्यसमा लाग्नैपर्छ, लागौं । परन्तु नेतृत्वको माथिल्लो तहले दीर्घकालीन कुरालाई पनि बिर्सन मिल्दैन । पश्चिम नेपालमा गत ५०० वर्षदेखि ठूलो भूकम्प गएको छैन र कुनै पनि बेला जानसक्छ भन्ने कुरा २०७२ को गोरखा भूकम्पको बेला चर्चा भएकै हो । अनि मान्छे भूकम्पले मर्ने हैन आफैंले बनाएको संरचनाको कारणले मर्ने हो भन्ने कुरा पनि भएकै हो ।
तर छेपारोको कथा झैं (छेपारोले हिउँदको जाडोको बेला अर्को वर्ष त बेलैमा घर बनाउँछु भन्छ रे तर गर्मी लागेपछि आनन्दले सुतेर बिर्सन्छ रे !) हामीले पनि त्यो बिर्सेर उही पुराना भूकम्पप्रतिरोधी नभएका परम्परागत घर/भवन कायम राखेर बस्यौं । अहिले ठूलो जनधनको क्षति व्यहोर्दैछौं ।
अब चेतौं ! अझै ठूलो भूकम्प जानसक्छ । संघ र प्रदेशले नीति/योजना र श्रोतको व्यवस्था गर्ने र स्थानीय तहले कार्यान्वयन गर्ने गरी यी काम गरौं– १. हिमाल, पहाड र तराईको विशिष्टता ख्याल गरी एकीकृत वस्ती प्रणाली र भवन लगायतका भौतिक संरचनाको नक्सांकन गरेर कडाइपूर्वक भूकम्पप्रतिरोधी ढाँचामा मात्र निर्माण गरौं/गराऔं ।
२. जहाँसम्म वित्तीय श्रोतको कुरा छ, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने कथन मनन गरौं। अनावस्यक सामाजिक/सांस्कृतिक फजुल खर्च रोकौं; सकेसम्म स्थानीय र न्यून–खर्च ( low cost ) का सामग्री र प्रविधि प्रयोग गरौं; अनुत्पादक भ्यूटावर/प्रवेशद्वार/शहीदद्वार/प्रतिमा/मठमन्दिर र समूह/समुदायपिच्छेका सामुदायिक भवनको सट्टा बहुउद्देश्यीय सामुदायिक भवन/संरचना निर्माण गरौं ( जुन विपद्को बेला पनि उपयोग हुन सकोस्);स्थानीय तहले निःशुल्क उपलब्ध गराउने डिजाइनको आधारमा मात्र आवास/भवन निर्माण गरौं ।