‘दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौं’
रवि लामिछाने ।
त्यही महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका जयसिंह धामी महाकाली नदिमा र हराउँछन् सँधैका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउँन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहिँ कतै देखिदैन । वर्षौंको यो निरिहताको कारण के होला ?
आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना पाना पल्टाएर बुँदाबुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनुहुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्छ । नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ शिराबाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौं तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।