५४ जनामा हैजाको संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हालसम्म ५४ जनमा हैजा रोग संक्रमण पुष्टि भएको छ। असार २ गते काठमाडौंको बागबजारमा बस्दै आएका २ जना किशोरीमा संक्रमण पुष्टि भएको हैजा रोग भदौं १ गतेसम्ममा ५४ जनामा फैलिएको छ ।
हैजा कहाँबाट फैलियो भनि स्रोत पत्ता नलागेपछि सरकारले उपत्यकामा फैलिएको हैजा संक्रमणको कारणबारे विस्तृत अनुसन्धान थाल्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस बिषयमा अनुसन्धान अघि बढाएको हो ।
इडीसीडीका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको र हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा हैजा देखिएको छ। ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा हैजा देखिएको छ । त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ।