सडक र फुटपाथ कसको ?
डा. रवीन्द्र पाण्डे ।
मैले विश्वका ३२ देश घुमेको छु । हरेक देशमा मकै पोल्ने, स्ट्रिट खाना बेच्ने हुन्छ । तर उनीहरुलाई निश्चित ठाउँमा मात्र अनुमति हुन्छ । जहाँ मन लाग्यो त्यहिं बटुवा हिंड्ने बाटोमा मकै पोल्ने, कपडा बेच्ने, सामान बेच्ने गर्दा बटुवा सडकमा हिंड्न बाध्य छन् , यहाँ । महानगरले निश्चित ठाउँ तोकेर स्ट्रिट फुड, सस्तो कपडा तथा सामान बेच्ने ठाउँको प्रबन्ध गर्नुपर्दछ | हालका पेटी यसै पनि साँगुरा छन् । पेटी बटुवामैत्री बन्नुपर्दछ ।
हामी अतिमा विश्वास गर्छौं । बालेनलाई देवत्वकरण वा दानविकरण गर्नु अतिबाद हो । सहरको सौन्दर्य बढाउने, पार्कहरु बनाउने, ब्यबस्थित बसोबास गराउने, सुरक्षित सडक बनाउने, प्रदुषण नियन्त्रण गर्न पुराना साधन बिस्थापित गर्ने, सार्वजनिक स्थान मिचेका घरटहरा भंत्काउने, व्यापक हरियाली बढाउने ………..आदि काममा महानगरले नयाँ ढंगले काम गर्नुपर्दछ ।
यदि हामीले भावुकताबश बिरोधको नाममा बिरोध गर्यौं भने बालेनले कम्फर्ट खोज्ने छन् । त्यो भनेको जस्तो चलेको छ, चल्न दिने, बिबादमा नआउने । यसो गर्दा बालेनलाई सजिलो हुन्छ तर सहर अहिलेको हालतमा हुन्छ । हामी आम नागरिकले यस्ता कुरा बुझेर मात्र समर्थन वा बिरोध गर्नुपर्दछ । महानगरलाई बस्नयोग्य बनाउने हो भने आमुल परिवर्तन जरुरी छ । सबैभन्दा जरुरी हाम्रो सोंचमा परिवर्तन जरुरी छ ।
दैनिक सामान बेचेर पेट पाल्ने बर्गलाई निश्चित ठाउँ र समय छुट्याएर काम गर्न दिनुपर्दछ । तर सडक तथा पेटी कसैले पनि दुरुपयोग गर्नु हुँदैन । जे जुन उद्देश्यले बनेको हो, त्यहि उद्देश्यको हुनुपर्दछ ।