प्रधानसेनापति शर्मा लेवनान प्रस्थान
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानसेनापति शर्मा शनिबार लेवनान प्रस्थान गरेका हुन् ।
प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । लेवनानमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् ।
भ्रमणदलले यही असार १० गतेसम्म शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ । भ्रमणका क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
यस भ्रमणपश्चात प्रधानसेनापति शर्मा यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति शर्माको टोली भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुनेछ ।