जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६, बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
पहिरोले सवारी साधन पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६, का ४० वर्षीय हरि बहादुर प्रजा, चितवन भण्डाराका ३६ वर्षीय सुदीप प्रजा घाइते भएका छन् । घाइतेहरुको चितवनमा उपचार भइरहेको छ ।
त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाइते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अविरल वर्षासँगैको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध छ । अवरुद्ध राजमार्ग गाउँपालिका र सडक विभागको डोजरले खुलाउने कार्य भइरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले जानकारी दिए ।
फोटोःpabilnews.com