सरकारलाई उद्धार र राहतका कार्य व्यवस्थित गर्न माधव नेपाल पक्षको आग्रह
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न उसले ध्यानाकर्षण गराएको हो ।
बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शीरूपमा उपलब्ध गराउन हामी नेपाल सरकारसंग माग गर्दछौं । वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो । यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ । अहिले मनसुन शुरु मात्र भएको छ । आगामी दिनहरूमा समस्या अझैं गम्भीर हुने सम्भावना देखिन्छ । यसको निम्ति समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधिहरू तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छौँ । साथैयस्तो प्राकृतिक विपत्तिमा आ–आफ्नो ठाउँबाट पीडित जनसमुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न हामी राज्यका सबै अंगहरू, सम्पूर्ण पार्टी, जनसंगठनहरू, जनप्रतिनिधिहरू, पार्टी सदस्यहरू, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछौं ।’
ha