सुरक्षा निकायलाई तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न गृहको निर्देशन
काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित जिल्लामा तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
बुधबार गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको बैठकले तत्काल राहत, उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको हो । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ । बैठकले विपद् नियन्त्रण तथा उद्दारमा सबै मन्त्रालयलाई परिचालन गरेर काम गर्ने निर्णय गरेको छ ।
बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षति भएको छ । बैठकमा सुरक्षा निकायले बाढी पहिरो डुवानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रफिङ गरेको थियो।