आजदेखि नयाँ शैक्षिक सत्र सुरु
काठमाडौं । विद्यालयहरुमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । कोभिड–१९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो ।
नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो । यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ ।
स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् । कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिला गरी सन्चालन गर्ने निर्णय गरेको थियो ।
अघिल्ला वर्षहरुमा विद्यालयहरुको शैक्षिक सत्र वैशाखदेखि सुरु हुने गर्दथ्यो । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतया सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।