प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा मार्ने अधिकार छैनः शम्भु थापा
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा किचेनमा बसेर हरहिसाब गरी अतिलज्जास्पद खेल खेलेको आरोप लगाएका छन् ।
बिहीबार सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा वरिष्ठ अधिवक्ता थापाले संविधानसभाबाट बनेको संविधानलाई कुनै शासकले मार्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘एउटा किचनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर अंकगणित गरेर उहाँहरुको जुन खेल खेल्नु भएको छ यो अतिनै लज्जास्पद छ । कुनै पनि हालतमा म सत्ता छाड्दिन भन्नु भाछ प्रधानमन्त्रीले । यो भन्दा उपहास के हुन्छ ?’ सर्वोच्चले दिएको फैसलाको प्रक्रिया सुरु नभएको अवस्थामा संसद विघटन गरेको भन्दै थापाले कस्तो प्रकारको प्रधानमन्त्री र राष्ट्रपति हुनुहुन्छ भन्ने सर्वोच्चले परीक्षण गर्नुपर्ने बताए ।
उनले अदालतसँग उसको कुनै शक्ति, पक्ष र इच्छा नहुने भन्दै उनले अदालतले कानुन हेरेर फैसला गर्ने बताए । उनले सभामुखलाई आवश्यक परे जुनसुकै कदम चाल्न तयार छु भनेर क्रियाशील रहन सुझाव दिएका छन् ।