लेखा समितिको निर्देशन बेवास्ता गर्दै चिनियाँ कम्पनीलाई सेनाले दियो फास्ट ट्रयाकको ठेक्का
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दुई वटै टेन्डरको नोटिस अफ लेटर अफ इन्टेन्ट (एलओई) जारी गरेको छ । सेनाले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी एलओई जारी गरेको हो ।
एलओईअनुसार यी दुई प्याकेजको लागत ३६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ छ । पहिलो प्याकेजको काम १५ अर्ब ६१ करोड ४२ लाख ५० हजारमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ । दोस्रो प्याकेजको ठेक्का चीनकै पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २० अर्ब ८५ करोड ७६ लाख रुपैयाँमा पाएको छ ।
१९ चैतमा संसदको सार्वजनिक लेखा समितिले भने फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रियामा अनियमितता हुन लागेको भन्दै ठेक्का रद्द गर्न निर्देशन दिएको थियो । तर, सेनाले सम्बन्धित निकायबाट कुनै निर्देशन नआएको भन्दै ठेक्का प्रक्रिया अघि बढाएको हो ।
सुरुङ र पुल निर्माणका लागि आह्वान भएको बोलपत्रमा पहिलोमा २१ र दोस्रो प्याकेजमा २२ कम्पनीले आवेदन दिएका थिए । नेपाली सेनाले पहिलो प्याकेजमा दुई र दोस्रोमा एउटा कम्पनीलाई पूर्वयोग्यतामा छनोट गरेको थियो । पहिलो प्याकेजमा चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन लिमिटेड छनोट भएका थिए ।
यस प्याकेजमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेवल पुल र सडकको सेक्सन छ । त्यस्तै, दोस्रो प्याकेजका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि–क्वालिफिकेसनमा छनोट गरिएको थियो । यस प्याकेजअन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माण गर्नुपर्नेछ ।