नेपाललाई थप तीन लाख डोज खोप दिने चीनको घोषणा
काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी हुन् ।
चीनले सुरुमा ३ लाख डोज दिने घोषणा गरेको थियो भने पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।चिनियाँ राजदूतावासले उक्त भ्याक्सिन नेपाललाई छिटोभन्दा छिटो ल्याउनको लागि पहल गर्ने जनाएको छ।
नेपाललाई सबैभन्दा पहिले भारतले उसको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड भ्याक्सिन विकास गरेको १० लाख डोज भ्याक्सिन सहयोग गरेको थियो ।
नेपालले अनुदान बाहेक आफैंले पनि भ्याक्सिन खरिद गरेर ल्याइसकेको छ । नेपालले भारतबाट २० लाख डोज भ्याक्सिन खरिद गरेको छ ।