इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँटः ५० कित्तासम्म माग गर्ने सबैले पाए सेयर
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो ।
सर्वसाधारणका लागि माघको पहिलो साता निष्कासन गरिएको सेयर अनुसार ५० कित्तासम्म माग गर्ने सबैले मागअनुसार नै सेयर पाएका छन्। निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् ।
१० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण भएको छ । यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँट गरिएको छ ।
४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदनयोग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ५० कित्ताका लागि मात्र आवेदन गर्ने १ लाख ७९ हजार ९३८ जनाले ५० कित्ताका दरले शेयर पाएका छन्।