सरकारी सवारीसाधन विरामी ओसारपसारमा प्रयोग गर्न डा. केसीको आग्रह



काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले लकडाउनका कारण विरामीलाई अस्पताल आउन समस्या परेकाले सरकारी सवारीसाधनमा विरामी ओसारपसार गर्न आग्रह गरेका छन् । केही समयदेखि डडेल्धुरामा रहेका चिकित्सक केसीले मंगलबार विज्ञप्ति जारी गरी अहिले सरकारी सवारीसाधन थन्किएर रहेकाले विरामी ओसारपसारमा प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘यो अवस्थामा एम्बुलेन्सहरु सबै बिरामीलाई अस्पताल पुर्याउन पर्याप्त छैनन् । फलस्वरुप दुरदराजका बिरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन् । त्यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेका छन् । शुरुमै यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका छन् । त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।’
प्रेस विज्ञप्ति

देश अहिले कोभिड–१९ को त्रासले आक्रान्त छ । महामारीको प्रभावका कारण अस्पतालहरुले दिने साविकका सेवाहरु समेत प्रभावित भइरहेका छन् । यसको सबैभन्दा ठूलो मार विपन्न र दुरदराजका मानिसहरुलाई परिरहेको छ । लकडाउन लम्बिंदै जाँदा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको छ । हप्तौं हिंडेर घर पुग्ने प्रयास गरेका हजारौं श्रमिहरुका बारेमा समाचारहरु आइरहेका छन् ।

यो समयमा ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति मिडियाको समेत ध्यान पुगेको छैन । सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा घटेको छैन, बरु बढेको होला । हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै बिरामीहरुको पीडा देखेको छु । यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो ।

यो अवस्थामा एम्बुलेन्सहरु सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त छैनन् । फलस्वरुप दुरदराजका बिरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन् । त्यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेका छन् । शुरुमै यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका छन् । त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।

अर्कोतिर सरकारी गाडीहरु अहिले निस्क्रिय रहेका छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु । स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकहरुलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो ।

अन्तमा, यो विश्वव्यापी संकटलाई हामी सबैले एकसाथ झेलिरहेका छौं र यसबाट पार पाउन समाजले गरिरहेको संघर्षमा हामी पनि साथमै छौं । कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी साथीहरु लगायत सबैको सुरक्षाको कामनासहित,

डा गोविन्द केसी
डडेल्धुरा ।
२०७७।१।९  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार