जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर अलप हुन्न : प्रधानमन्त्री(भिडियोसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका उनले भिडियो सन्देशमार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षमा बितेको बताउँदै लोकतन्त्र र स्वतन्त्रताको लागि संघर्ष गरेकैले आफ्नो स्वास्थ्यमा समस्या आइरहेको दाबी गरेका छन् ।
१२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको उनले सम्झिएका छन्। त्यतिबेलाभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सहज भएको र अहिले थप सहज हुने उनले अपेक्षा राखेका छन्। नेपालमै अनुभवि नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा आफूलाई गर्व लागेको उनले बताएका छन् । विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफूले नछोड्ने बताए। उनले भनेका छन्, ’जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न।’