औषधि र तीज
डा. गोविन्दशरण उपाध्याय ।
चिकित्सक र अस्पतालसंग काम नपर्नेहरू भाग्यमानी हुन् र अभागी पनि | नेपालमा हरेक वर्ष हजारौं मान्छेहरू उपचार नपाएर मर्छन् | नेपालका अस्पताल, चिकित्सक र औषधि नेपालीको आर्थिकस्तरका लागि धन्नै नसकिने महंगा छन् | अस्पतालको बील सम्झेर सर्वसाधारण मानिस अस्पताल जानबाट थर्कमान हुन्छ | गरीव अस्पताल जानै सक्दैन, मध्यमवर्गको मान्छे अस्पताल गएर “घर न घाट” को हुन्छ |
धेरै अगाडी पत्रकार ध्रुव सिंखडाले एउटा खोज मूलक लेख एउटा प्रतिष्ठित पत्रिकामा प्रकाशित गरेका थिए | पत्रिकाको नाम सम्झना रहेन | त्यो लेखमा नेपाली चिकित्सक, अस्पताल र दवाई निर्माता कम्पनीहरूको मिलोमतोलाई उजागर गरेको थियो | नाम चलेका चिकित्सकको घरको चम्चा समेत औषधि कम्पनिले कमिसनमा दिएको हुन्छ भने अरू कुरा छोडौं | सबै चिकित्सकलाई कमिसनखोर छैनन्, आफ्नो जीवन र कमाई समेत सेवामा अर्पित गर्ने पनि छन् |
भारतीय प्रसिद्ध अभिनेता अमीर खानले “सत्यमेव जयते” भन्ने कार्यक्रममा भारतीय राजस्थानका एकजना अभियन्ता चिकित्सकको अन्तर्वार्ता प्रस्तुत गरेका थिए | तेसमा चिकित्सकले एउटा १० पैसा पर्ने औषधि चिकित्सक, व्यापारी र चिकित्सालय मिलेर कसरी १२० रुपैयामा बेच्छन् भन्ने उजागर गरेका थिए | बजारमा १ लाख १० हजारमा बेचिने क्यान्सरको औषधिको मूल्य ९ हजार पर्छ भनेको सुन्दा अचम्म लागेको थियो |
आज तिनै राजस्थानी चिकित्सकको अभियानका कारण भारतीय राजस्थानमा १ लाख १० हजार पर्ने क्यान्सरका औषधिहरू केवल ९ हजारमा पाइन्छन् | ठाउँठाउँमा जेनेरिक औषधि पसलहरू खुलेला छन् | सर्वसाधारणले निर्धक्कसंग अस्पताल पुग्ने आँट गर्न थालेका छन् | ्चिकित्सकहरूले औषधिको “जेनेरिक”नाम मात्रै लेखिदिए औषधिको मूल्य निकै कम पर्ने रहेछ | नेपालमा मैले कुनै पनि चिकित्सकले औषधिको जेनेरिक नाम लेखेको देखेको छैन | कम्पनीको ब्राण्ड नाम लेख्दा चिकित्सकहरूको गोजिमा कमिसन आउँछ, जेनेरिक नाम लेख्दा सुख्खाराम ! अनि किन लेख्ने जेनेरिक नाम ?
मैले सुनेअनुसार नेपालमा करिव ५१०० औषधि कम्पनीहरूले औषधि लगाएत अन्य स्वास्थ्यजन्य सामग्रीहरू बेच्दछन् | कम्पनीको अर्थ नै नाफा हो र तेस्तो नाफा चिकित्सक खुसी नभएसम्म प्राप्त हुँदैन | कम्पनीहरूको खुसी र चिकित्सकहरूको सुखको रक्षा सर्वसाधारणले आफ्नो ज्यान दिएर गर्नुपर्छ | डाक्टरहरूले रिफर गरेका टेस्टहरूमा होस् वा शल्यक्रियामा कमिसनको जालो चल्छ | तेसको भार गरीवले आफ्नो ज्यान दिएर चुक्ता गर्छन् | चिकित्सक सेवक हुन सम्भव छ तर औषधि कम्पनीहरू सेवामूलक हुनैसक्दैनन् | सरकारमा पनि गरीवको होइन धनि औषधि-कम्पनीहरूको पहुँच हुन्छ |
अन्त्यमा, सोफियाको तीजको गीतका विरुद्ध हिन्दू जागरणले चलाएको अभियानका विरुद्ध वरिष्ट चिकित्सक श्रीअरूणा उप्रेतीको अनलाइन खवरमा पत्र पढें | बहुसंख्यक हिन्दू को आस्थामा प्रहार गर्दा खुसी हुनेहरू दुखी आत्मा हुन् | उहाँले एउटा सामाजिक संस्थासंग सोधेका प्रश्न पढ्दा नेपाल सरकार “ब्युजिनेशलेस” हुने देखिन्छ !! एउटा नास्तिक मान्छे तीजको पक्ष-विपक्षमा उभिनु भन्दा चिकित्सकको दायित्व बुझेर “जेनेरिक” आन्दोलनका पक्षमा “ब्राण्ड”का विरुद्ध विद्रोह गरेको भए डा. अरूणाको कद निकै ऊंचो हुनेथियो | आम नेपाली कृतज्ञ हुन्थे, धेरैको जीवन रक्षा हुन्थ्यो | आफ्नो मौलिक धर्म, आस्था, रितिरिवाज, संस्कृति सबैलाई प्यारो हुन्छ -चेतना भया |