वैदिक संस्कृतिमा नागदेवता



डा.गुरुप्रसाद सुवेदी। 
१. विषयप्रवेश
सनातन वैदिक परम्परामा नागलाई देवताको रूपमा सम्मान गरिन्छ । यस मान्यताको मूल खोज्दै जाँदा वेद, पुराण, स्मृति, इतिहास, धर्मशास्त्र, सङ्गीत, कला, साहित्य लगायत हरेक ठाउँमा विभिन्न रूपमा नागदेवताको उपस्थिति पाइन्छ । ती सबैको उल्लेख यहाँ सम्भव छैन । ती सबै छुट्टा छुट्टै शोधग्रन्थका विषय हुन सक्छन् । यहाँ संक्षिप्त रूपमा नागसम्बन्धी वैदिक मान्यताको दिग्दर्शन र त्यसको दार्शनिक पक्षको सङ्केत मात्र गरिएको छ । आगामी दिनमा तत्तद् विषयमा छुट्टाछुट्टै अध्ययन हुने र त्यसबाट नागसम्बन्धी रहस्यहरू खुल्दै जाने अपेक्षा राखिएको छ ।
२. नागशब्द र पर्यायहरू
नागशब्दका अर्थ धेरै छन्, पाणिनीय व्याकरणमा नागशब्द तीन तरिकाबाट सिद्ध गरिन्छ ।
क) नगे भव नागः । न हिँड्ने स्थावरलाई नग भनिन्छ । नग भनेको पर्वत हो । त्यहाँ हुने, अर्थात् पर्वतमा बस्नेलाई नाग भनिन्छ । तर यो व्युत्पत्ति गर्दा पुंलिङ्गी नागशब्दले सर्प र नपुंसकलिङ्गी नागशब्दले राङ्, सी
सा जस्ता धातुलाई पनि बताउँदो रहेछ ।


ख) न गच्छति इति अगः । न अगः नागः । यो व्युत्पत्ति गर्दा नागशब्दले गतिशील भन्ने अर्थ दिन्छ ।
ग) दहति अस्मात् विषाग्निना इति नागः । अर्थात् जसले विषरूप अग्निद्वारा दहन गराउँछ वा जलाउँछ, त्यसलाई नाग भनिन्छ । यस व्युत्पत्तिअनुसार दहधातुबाट उणादिमा रहेको दहेर्गो लोपो दश्च न भन्ने सूत्रले दहधातुदेखि ग प्रत्यय, अन्त्यको लोप र दको न गराउँदा नागशब्द बन्छ । त्यसको सामान्य अर्थ सर्प भन्ने हुन्छ । विशेष अर्थ गर्दा प्राण आदि विभिन्न भोगी, जिह्मग, पवनाशन, लेलिहान, द्विरसन, गोकर्ण, कञ्चुकी, कुम्भीनस, फणधर, हरि, भोगधर आदि । यस्तै शेष, अनन्त, वासुकी, सर्पराज, तक्षक आदि शब्दको विशेष प्रयोग पाइन्छ । गोनस, अलगर्द, जलव्याल पानी सर्पहुन् भने राजिल र डुण्डुभ दुइमुखे सर्प हुन् । संस्कृतसाहित्यमा सर्पका नाम र भेदहरू सैकडौँ पाइन्छन् । जसको छुट्टै अध्ययन हुन सक्छ ।
३. नागसम्बन्धी वैदिक प्रसङ्ग
वैदिक वाङ्मय व्यापक र रहस्यपूर्ण छ । सहजरूपमा अर्थ थाहा पाउन पनि कठिन छ । सामान्य दृष्टिले हेर्दा पनि वेदमा सर्प अहि नाग आदिको व्यापक चर्चा पाइन्छ । वेदमा सर्प र नागलाई नमस्कार पनि गरिन्छ भने अहिलाई अलि डर लाग्दो विषालु मानेर नष्ट गर्ने कुरा हुन्छ । आहन्ति इति अहिः । अहि भुइँमा लुटपुट गर्ने प्राणी हो । वेदमा क इ पन्थां विसर्पति ? प्रश्नको उत्तर दिँदै अहिः पन्थां विसर्पति (शु.य. २३/५६) भनिएको छ । अहि शब्दले सर्पलाई मात्र नभएर मानवस्वास्थ्यमा प्रतिकूल असर पार्ने सरिसृप कीटाणुलाई सङ्केत गरिएको हुनुपर्छ । त्यसैले रुद्रीमा अहीँश्च सर्वान् जम्भयन् (शु.य. १६/५) मा रुद्रदेवसँग सबै प्रकारका अहिलाई नष्ट गर्न भनियो तर सर्पलाई नमन गर्न भनिएका यजुर्वेदका यी मन्त्र पढ्दा सर्पको व्यापकता पनि देखिन्छ । जस्तै–
नमोऽस्तु सर्पेभ्यो ये के च पृथिवीमनु । येऽअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।।
याऽइषवो यातुधानानां ये वा वनस्पतीन् अनु । ये वा इत्वरेषु शेरते तेभ्यः सर्पेभ्यो नमः ।।
ये वामी रोचने दिवो ये वा सूर्यस्य रश्मिषु । येषामासु सदस्कृतं तेभ्यः सर्पेभ्यो नमः ।।
अर्थात् जो पृथिवीमा, अन्तरिक्षमा र स्वर्गमा छन्, त्यस्ता सर्पलाई नमस्कार । जो राक्षसका हतियार बनेका छन्, जो वनस्पतिमा बस्छन् र जो प्वालमा सुतिरहेका छन्, त्यस्ता सर्पलाई नमस्कार । जो स्वर्गमा चम्किएका छन्, जो सूर्यका किरणमा र जलमा बस्छन्, ती सबै सर्पलाई नमस्कार । यी केही प्रसङ्गबाट सर्पसम्बन्धी वैदिक मान्यता र व्यपकताको दिग्दर्शन बुझ्न सकिन्छ ।
४. नाग सम्बन्धी पौराणिक आख्यानहरू
क) उत्पत्ति
पौराणिक मान्यताअनुसार जगत्स्रष्टा ब्रह्माजीका मानसपुत्र मरीचि र उनका पुत्र कश्यप हुन् । कश्यपका १३ पत्नीमध्ये अदितिबाट देवता, दितिबाट दैत्य, विनताबाट गरुडसमेतका पक्षिगण, कद्रूबाट नागसमेतका सर्पहरू जन्मिए । ती नागहरू आफ्नो जमानामा निकै समृद्ध र शक्तिसम्पन्न थिए । यिनका सन्ततिको विस्तार हुँदै गयो र यिनीहरू निकै अभिमानी पनि हुँदै गए । मदोन्मत्त भएका नाग प्रजातिको उन्माद बढ्दै जाँदा यिनीहरूले मनुष्यलाई जथाभावी डस्न थाले । त्यसपछि मनुष्यहरूको अनुरोधमा ब्रह्माजीले सर्पहरूलाई शापित गरी नियन्त्रणमा लिनुभयो र वितल, सुतल, पातालमा सीमित हुने बनाउनुभयो ।
ख) गरुडसँग डराउने सर्प
सर्पकी आमा कद्रू र गरुडकी आमा विनताको विवादका क्रममा असत्यको पक्ष लिएकाले काद्रवेय सर्पहरूले विनतापुत्र गरुडसँग हार्नुपरेको थियो भन्ने पनि पौराणिक आख्यान पाइन्छ ।
ग) नागको स्वरूप र भेद
सामान्यतया नाग आठ प्रकारका हुन्छन् भन्ने मानिन्छ । जस्तै:- अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख । यी सबैका छुट्टाछुट्टै आख्यान छन् । प्रसिद्धि पनि छ –
अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।
घ) शिवजीको आभूषण र विष्णुको शय्या
वासुकि नागलाई शिवको आभूषण वा जनै पनि मानिन्छ । विष्णुको शैया शेषनाग हुन् । यस्तै गणेशलाई पनि व्यालयज्ञोपवीती अथात् सर्पको माला लगाउने भनिन्छ ।
ङ) भूमिदेवको रूपमा नाग
नागदेवतालाई पृथिवीलाई धारण गर्ने देवताको रूपमा पनि मानिएको छ । भूमण्डलं सर्षपायति यस्य मूर्ध्नि (भागवत) अर्थात् जस्को शिरमा समग्र अखण्ड भूमण्डल सर्स्यूंको दाना बराबर हुनजान्छ भनेर शेषको स्तुति गरेको पनि पाइन्छ ।
च) गानविद्या जान्ने नाग
कम्बल र अश्वतर नामक नागले सरस्वतीबाट गानविद्यामा निपुण हुने वर प्राप्त गरेका थिए (मार्कण्डेय पुराण) । यसबाट नागहरू गानविद्यामा निपुण हुन्छन् भन्ने कुरा पनि सिद्ध हुन्छ । आज पनि सर्पहरू सङ्गीतको सुमधुर लयमा नाच्ने गरेको र सङ्गीत मन पराएको देखिन्छ ।
छ) वाच्छो बनेको नाग
पृथुले गाईरूप पृथिवीको दोहन गर्दा तक्षक नाग बाच्छो बनेको थियो । पृथिवीबाट सर्पहरूका लागि विषरूप भोजनको दोहन गरेको थियो । (भागवत ४।१८।२२)
ज) साहसी नाग
पौराणिक आख्यान अनुसार कतिपय अरूले गर्न नसक्ने साहसी काम गर्न नागहरूलाई लगाइएको पनि पाइन्छ । राजा परीक्षित्‌लाई डस्नका लागि कश्यपको सहारा लिएर अगाडि आउने तक्षक नै थियो । पछि जनमेजयले आयोजना गरेको सर्पयज्ञबाट सुरक्षित हुन इन्द्रको शरणमा पुगेको थियो ।
झ) कालीय नाग
श्रीकृष्णको बाललीलाका प्रसङ्गमा कृष्णले कालीय नागलाई नियन्त्रण गरेको र नागकन्यासँग कुराकानी गरेको प्रसङ्ग कृष्णचरित्रमा जोडिएको छ । त्यसबेला भगवान् कृष्णले शेषनागको अवतार भएकोले सजातीयसँग स्नेह हुने आशङ्काका कारण बलरामलाई साथ नलगेको प्रसङ्ग पनि स्मरणीय छ ।
ञ) वास्तु पुरुषको रूपमा नाग
गृहनिर्माण गर्दा नागदेवताको पूजा हुन्छ । शिलान्यासभन्दा पहिले खातारम्भ गर्दा नागको शिर र पुच्छरको अवस्थिति हेर्नुपर्ने र त्यसको पृष्ठभागमा मात्र उत्खनन गर्नुपर्ने वास्तुशास्त्रीय विधान छ ।
ट) अन्य सन्दर्भमा नाग
• नागद्वीप
जम्बूद्वीपअन्तर्गत भारतवर्षको नौ खण्डमध्ये एउटा खण्डलाई नागखण्ड वा नागद्वीप पनि भनिन्छ ।
• नागपाश
वरुणको अस्त्रलाई नागपाशको संज्ञा दिइएको छ । रामायणमा मेघनादसँग भएको अस्त्रलाई नागपाश भनिएको छ । यसै नागपाशद्वारा मेघनादले लक्ष्मणलाई मूर्च्छित बनाएको थियो । जसबाट बचाउन सुषेणको परामर्शमा सञ्जीवनी औषधि खोज्न गएका हनुमान्‌ले औषधि नचिनेर हिमालय पर्वत नै लिएर आएका थिए ।
• नागमाता
नागकी मातालाई नागमाता भनिन्छ । कतिपय ग्रन्थमा नागमातालाई सुरसाको संज्ञा दिइएको छ, जो रामायणमा हनुमान्‌को लङ्कागमनका प्रसङ्गमा सुरसासँग भेट भएको प्रसङ्गसमेत जोडिन जान्छ ।
• नागकेशर
नागकेशर प्रसिद्ध औषधि हो । नागवल्ली पानलाई भनिन्छ । भित्तोमा ठोकिने किलोलाई नागदन्तिका भनिन्छ । भिक्षुकहरूले मागेको भिक्षा नागदन्तिकामा झुन्ड्याउँछन् । अश्लेषा नक्षत्रलाई नागदैवत पनि भनिन्छ । त्यस्तै ज्योतिषमा नाग करण पनि छ ।
५. विभिन्न दृष्टिमा नाग
भौतिक दृष्टिले हेर्दा हाम्रो वरिपरि रहेको प्राणवायुलाई सर्पहरूले जोगाउँछन् । सर्प नहुने हो भने हावा विषाक्त हुन्छ । त्यसपछि मानवजीवनको अस्तित्व सङ्कटमा पर्छ । सर्पले विषाक्त वातावरणलाई परिष्कृत गर्छन् । त्यसैले सर्प पूज्य छन् । यो स्थूल दृष्टि हो ।
सूक्ष्म दृष्टिले हेर्दा सर्प हाम्रो मनको एकाग्रता थाहा पाउने देवता हुन् । सर्प ज्यादै संवेदनशील हुन्छन् । सामान्यतया मानिसहरू सर्प देख्दा आक्रामक बन्छन् । त्यो क्रिया पछि सर्पहरूले पनि प्रतिक्रिया देखाउँछन् र प्रत्याक्रमण गर्छन् । मन एकाग्र र शान्त भए सर्पले केही गर्दैनन् । शिवजीले सर्पको माला लगाउनु र शिरमा गङ्गा हुनुको रहस्य यही हुन सक्छ । त्यहाँभन्दा गहिरिएर हेर्दा सम्पूर्ण सृष्टिको अभिन्न निमित्तोपादान मानिने भगवत्तत्त्वको पनि निकटतम सहचर शेष हुन् । अतद्‌व्यावृत्तिको सूत्रअनुसार अनात्मपदार्थलाई पृथक्करण गर्दा बाँकी रहने चिज शेष हुन्छ । तस्मादेकः शिष्यते शेषसंज्ञः । कं शेषाद् भगवत आश्रयेन्मुमुक्षुः । सांसारिक प्रपञ्चबाट मुक्त हुन चाहनेले शेषको शरणमा जानुपर्छ । भगवान् कृष्ण भए शेष बलराम । भगवान् राम हुँदा शेष लक्ष्मण । तर दुबै नित्य अनुचर । नित्य सहचर । यो हो नागपूजनबाट सुरु हुने अध्यात्मपथको दिव्ययात्रा । प्राणोपासना हुँदै परमतत्त्वको साक्षात्कार ।
६. सर्पवादको दार्शनिक पाटो
यी माथिका वैदिक पौराणिक प्रसङ्ग सुन्दा सर्प सामान्य प्राणीलाई मात्र भनिएको होइन कुनै व्यापक तत्त्वको समेत सर्पमा अनुप्रवेश भएको मान्नुपर्छ भन्ने देखिन्छ । शतपथ ब्राह्मणमा – इमे वै लोका सर्पाः (७/४/१/२५) भनिएको छ । यी सबै लोक सर्प हुन् । लोक अर्थात् जीवन । जीवनको तात्पर्य प्राण । प्राणको नाम पनि नाग हो । उद्गारे नाग आख्यातः । हामीले श्वास लिँदा दाँया र बाँया श्वास लिन्छौँ । यिनलाई इडा र पिङ्गला भनिन्छ । दुवैको मध्यबिन्दु सुषुम्णा हो । सुषुम्णा नाडी सामान्यतया निष्क्रिय हुन्छ । यसको मूल कुण्डलिनी हो । त्यो सर्पाकार हुन्छ । योगीहरूले योग साधनाद्वारा कुण्डलिनी जगाउँछन् । सिद्धि प्राप्त गर्छन् । यो प्राणविद्या हो । गोरखनाथले यसलाई हंसविद्या पनि भने । हंस सोहं यो प्राणको गतिसँग सम्बद्ध मन्त्र हो । सामान्यतया प्रतिदिन २१६०० पटक श्वास फेरिदोरहेछ । बुझ्नेले यसैलाई विचार गर्दा यो मन्त्र हुँदो रहेछ । यसको जप गरिँदो रहेछ । नजपिकन जप अर्थात् अजपाको जप ।
७. नागपूजा र नागदर्शनको नातो
वैदिक सनातन संस्कृतिको विशेषता नै व्यापकता हो । यहाँ व्यष्टिको कुरा गर्दा समष्टि हुन जान्छ । अण्डको कुरा गर्दा ब्रह्माण्डको व्याख्या हुन्छ । यत् पिण्डे तद् ब्रह्माण्डे । जीवात्माको चर्चा गर्दा परमात्माको पत्तो लाग्छ । सूक्ष्म खोज्दा विराट् भेटिन्छ । जीव खोज्दा शिव भेटिन्छ । शिवको विस्तार नै सृष्टि हो । सृष्टिलाई गहिरिएर हेर्दा त्रिपुटि भेटिन्छ । अध्यात्म, अधिदेव र अधिभूत तीन छन् । तर अन्योन्याश्रित । एकमेकतराभावे द्वयं नोपलभामहे । आँखा, सूर्य र रूप मध्ये एक विना अर्को छैन । सूर्यको पूजा गर्नाले दृक्शक्ति बढ्छ भन्ने सिद्धान्त छ । त्यस्तै नागको पूजा प्राणशक्तिको उपासना हो । यो अध्यात्मदृष्टि हो ।
८. सर्पको हनन कि पूजा ?
पूर्वप्रसङ्गमा सर्पदेवताको पूजा प्राणोपासना हो भनियो । वेदमा अहि शब्दको प्रयोग वृत्रका लागि भएको छ र वृत्रलाई असुर पनि मानिन्छ । असुरको रूपमा देखिने वृत्ररूप अहिको पूजा होइन विनाश आवश्यक छ । त्यसैले वेदमा इन्द्रले वृत्रलाई मारे भनिन्छ – यो हत्त्याहिमरिणात् सप्त सिन्धून् योगा उदजादपधावलस्य (ऋग्वेद २/१२/३) अर्थात् इन्द्रले वृत्रनामक अहिलाई मारेर सात सिन्धुहरू प्रवाहित गरे । त्यो त असुर हो । असुषु रमते इति असुरः । प्राणात्मवाद भनेको देहात्मवाद हो । यो नै भौतिकवाद पनि हो । अर्को हो प्राणोपासनाको माध्यमले प्रत्यगात्माको साक्षात्कार । त्यो हो अध्यात्मवादको यात्रा ।
९. सर्पपूजनको रहस्य र निष्कर्ष
सर्पले काचुली फेर्छ । तर काचुली नै सर्प होइन । त्यस्तै सुरुमा शरीर नै आत्मा हो भन्ने लाग्छ । तर विचार गर्दै जाँदा शरीरादि भन्दा भिन्न आत्मा सिद्ध हुन्छ । यो कुरा बुझेर देहात्मवादको परित्याग गरी प्राणोपासनाको माध्यमले परमतत्त्वको साक्षात्कार गर्नु सर्पपूजनको निगूढार्थ हो । व्यावहारिक दृष्टिले पनि सर्पहरू मानवजीवनका अभिन्न सहायक भएका हुनाले तिनको सम्मान हुनै पर्छ । श्रावणशुक्ल पञ्चमीका दिन घरको ढोकामा नागको चित्र टास्ने र नागपूजा गर्ने परम्पराले पनि प्रकृतिसँगको हाम्रो सुमधुर सम्वन्ध भएको र त्यसलाई कायम राख्नुपर्ने कुरालाई सङ्तेक गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।