नेकपाको नेतृत्वले चिनियाँ नेता चाउ एनलाई सम्झिने कि ?
विष्णु रिजाल ।
पार्टीभित्र विवाद देखा पर्दा चिनियाँ नेता चाउ एनलाईको व्यक्तित्व सम्झना आउँछ । चाउ एनलाईको नाम लिनासाथ थाहा पाउनेहरुका मानसपटलमा जनवादी गणतन्त्र चीनको २७ बर्ष प्रधानमन्त्री र चीनको विदेश नीति निर्माणका एकाधिकारको बिम्ब नआउने कुरा भएन । तर, मेरो मानसपटलमा चाहिँ उनी चिनियाँ कम्युनिस्ट पार्टीलाई अनेक विग्रहबाट बचाउने, कसैले केही भन्न नसक्ने अध्यक्ष माओका गल्तीहरुलाई कुशलतापूर्वक सच्याउने, उग्रवामपन्थको शिकार हुनबाट आफ्ना थुप्रै कमरेडहरुलाई बचाउने र आजको चीनको जग बसाल्ने एकजना कुशल कालीगढका रुपमा छाप बसेको छ ।
सन् १९५६ को आठौँ महाधिवेशनपछि चिनियाँ कम्युनिस्ट पार्टीमा गडबडी देखा पर्न थालिसकेको थियो । सन् १९५८ मा माओले अघि सारेको महान् अग्रगामी छलाङको नाराको असफलतासँगै पार्टीभित्र अन्तरसंघर्ष चर्किंदा चाउ एनलाईले जहिले पनि समन्वय गरेर पार्टीलाई मिलाउने काम गरेको पाइन्छ । पार्टीभित्र दुई लाइन संघर्षका नाममा आफ्नै कमरेडहरुमाथि हुने कत्लेआमको उनले कहिल्यै समर्थन गरेनन् । उदाहरणका लागि चीनका गौरवशाली १० मार्शलमध्येका एक रक्षामन्त्री जनरल पेङ तेहुईलाई माओसँगको विवादमा उनले बचाउन त सकेनन् तर बर्खास्त भएपछि पनि उनको रेखदेख र व्यक्तिगत मित्रतामा चाहिँ कमी राखेको पाइँदैन ।
सन् १९६७ मा पार्टीका दोस्रो बरियताका नेता तथा चीनका राष्ट्राध्यक्ष (राष्ट्रपति चाहिँ भनिँदैनथ्यो) ल्यु शाओचीमाथि सांस्कृतिक क्रान्तिका नाममा अपमान हुँदा रोक्ने व्यक्ति चाउ एनलाई नै थिए । माओको इच्छा अनुसार उनका ‘सबभन्दा निकट कमरेड तथा उत्तराधिकारी‘ घोषित उपाध्यक्ष लिन प्याओका साथै माओकी श्रीमती च्याङ चिङ, चाङ चुङचियो, वाङ होङवेन र याओ वेनयुआनको नेतृत्वमा सञ्चाालित सांस्कृतिक क्रान्तिका पक्षधर थिएनन् । त्यसक्रममा लालआतंकको शिकार हुनबाट उनले कैयौँ कमरेडहरुलाई बचाएका थिए । उदाहरणका लागि आक्रामक रुपमा प्रस्तुत हुने, जनयुद्ध लडेर आएका र १० मार्शलमध्येका एक विदेशमन्त्री जनरल चेन यीमाथि सांस्कृतिक क्रान्तिको चुच्चे टोपीवाला टोलीले मन्त्रालयमै दुव्र्यवहार गर्न खोज्दा ढोकामा खडा भएर उनले भनेका थिए, ‘तिमीहरु मेरो लाशमाथि भएर मात्रै जनरल चेन यीको कोठामा जान सक्छौँ ।‘
चाउ एनलाईसँग समन्वय गर्न सक्ने अद्भूत कला थियो । एकातिर उनी अध्यक्ष माओका अति विश्वासपात्र थिए र उनलाई माओका चम्चा भनिन्थ्यो भने अर्कातिर माओकै नाममा सुरु गरिएको सांस्कृतिक क्रान्तिका आलोचक थिए । उदाहरणका लागि पार्टीको कुनै अधिकारी वा सरकारी कर्मचारीलाई सांस्कृतिक क्रान्तिवालाले तारो बनाउँदैछन् भन्ने थाहा पाउनासाथ उनी रातारात दुर्गम ठाउँमा सरुवा गरिदिन्थे र उसलाई भन्थे, ‘समय सधैँ एउटै हुँदैन, अहिले ज्यान बचाउन तिमी यहाँबाट गइहाल ।‘ अनि त्यसरी कारवाही गर्न खोजिएको मानिसका बारेमा कसैले सोधखोज गरिहालेछ भने उनी भन्थे, ‘बदमास रहेछ, मैले त्यसलाई कोही पनि जान नमान्ने अति विकट ठाउँतिर पठाइदिएको छु, उतै ठीक पर्छ ।‘
चाउ एनलाईका छोराछोरी थिएनन् । बरिष्ठताा उनी माओ र ल्यु शाओची पछि थिए । तर, माओले बीचैमा लिन प्याओलाई उत्तराधिकारी घोषणा गर्दा उनले कुनै दावी गरेनन् । सन् १९७१ मा सत्तापलटको षड्यन्त्रमा सामेल भएको पत्ता लागेपछि आफ्नै छोरालाई जहाज चलाउन जगाएर भाग्दै गर्दा लिन प्याओ मारिएपछि माओले आफ्नै प्रान्तको सचिवबाट केन्द्रमा ल्याएर हु कोफेङलाई उत्तराधिकारी घोषणा गर्दा पनि चाउ एनलाईले माओको आलोचना गरेनन् । समन्वयकारी नेताको एउटा आम समस्या हुन्छ, जसमा चाउ एनलाई अपवाद थिएनन् ।