भ्रष्टाचार र नेपोटिज्ममध्ये कुनै एकले पनि बर्बाद गर्न सक्छ, दुबै मिसियो भने के होला ?
नारायण गाउँले ।
स्वास्थ्य क्षेत्रमा सुधारका लागि लामो समय एक्लै लड़ेका डाक्टर गोविन्द केसीका मुख्य तीन माग थिए:
१-राष्ट्रिय चिकित्सा आयोग
२-त्रिविवि आइओएममा वरिष्ठताको आधारमा डिन नियुक्ति
३-काठमाडौंमा दश वर्ष मेडिकल कलेजको सम्बन्धन रोकेर काठमाडौं बाहिर लगानीको वातावरण ।
१-विकृति हटाएर स्वास्थ्य शिक्षालाई व्यवस्थित र सबैको पहुँचमा पुऱ्याउने र शुल्क घटाउने कामका लागि उनले मागेको आयोग त बन्यो, तर त्यसमा सदस्य बनाइए निजी मेडिकल कलेजका सञ्चालक बसुरुद्दीन अन्सारी । उनी सदस्य बन्दै गर्दा उनको बीरगंजस्थित नेशनल कलेजमा तोकिएको दरभन्दा चर्को शुल्क असुलेको आरोपमा विद्यार्थीहरू आन्दोलन गर्दै थिए । उनले आन्दोलनरत विद्यार्थीलाई कुटेको आरोप सहित सत्ताधारी दल नेकपाकै विद्यार्थी सङ्गठनले धर्ना र जुलुश गरेको थियो । कलेजको अनुगमन गर्न गएको सरकारी टोलीलाई प्रवेश नै नदिएको खबर पत्रिकामा थियो । तर ओलीसँग उनको नजिकको उठबस थियो । सकियो ।
२-निजी स्वार्थका लागि लडेको आरोप लगाएर डाक्टर केसीलाई डिफ्यूज गर्ने योजना अनुरूप उनलाई डिनको नियुक्तिको लोभ दिइएको खबर आयो । तर उनले वरिष्ठताको आधारमा नियुक्ति हुनुपर्ने माग राखे र आफूले त्यो पद लिएनन् । वरिष्ठ मात्रै योग्य हुन्छ भन्ने हुँदैन तर पनि हाम्रो जस्तो राजनैतिक दुर्गन्ध र षड्यन्त्रले जेलिएको राजनैतिक नियुक्ति-चक्रमा सुधारका लागि त्यो सबैभन्दा उत्तम हुन्थ्यो । सरकारले यसमा सम्झौता गरेको थियो तर, उनको आन्दोलन तुहाइएपछि अहिले वरिष्ठताको पुछारमा रहेकी ओलीकी निजी चिकित्सकलाई डिन नियुक्त गरियो ।
३-यतिबेला काठमाडौं बाहिर स्वास्थ्य उपचारको अवस्था सबैलाई थाहा नै छ । भेन्टिलेटर चाहिने बिरामीलाई आइसोलेशनको नाममा झ्याल नभएको कोठामा राख्नु परेको छ । क्वारेन्टीनमैं कतिले मृत्यु वरण गरेका छन् । काठमाडौं बाहिरको स्वास्थ्य क्षेत्रको अवस्था कहाली लाग्दो छ । निजी हस्पिटल खाली छन् तर सङ्क्रमितलाई विद्यालयको चिसो छिँडीमा राख्नुपरेको छ । समयमा एम्बुलेन्स नपाएर र एम्बुलेन्स पाए पनि हस्पिटलमा उपचार नपाएर धेरैको ज्यान गएको छ । स्वास्थ्यपूर्वाधार काठमाडौं बाहिर किन चाहिन्छ र यसलाई व्यापारको विषयमात्रै किन बनाउनु हुन्न भन्ने अनुभव धेरैलाई भएको छ । तर, यतिबेला डाक्टर केसीलाई डिफ्यूज गर्न सफल भएकोले धेरै माफियाले खुशी मनाई रहेका छन् ।
भ्रष्टाचार र नेपोटिज्ममध्ये कुनै एकले पनि बर्बाद गर्न सक्छ । दुबै मिसियो भने के होला, यसै भन्न सकिन्न ।