कोरोना र खाद्यक्षेत्र



निरन्जन तिमिल्सेना ।
सन् २०१९ मा विश्व आफ्नै किसिमको आर्थिक बृद्धि र विकासको गतिमा अगाडि बढिरहेको थियो । सन् २०१९ को अन्त्य सँगै आर्थिक बृद्धि, स्थायित्व र विकासको पनि अधोगति शुरु भयो । सन् २०२० को जुन महिनासम्म पनि विश्वको आर्थिक बृद्धि र विकासको गति पहिलेको अवस्थामा फर्किन सकेको छैन । सन् २०२० मा समग्र विश्व एकातिर भएर कोभिड–१९ नामक भाईरल रोगसँग लडिरहेको छ तर अभैmपनि विजय प्राप्त गर्नसकेको छैन । कोरोना संक्रमणले विश्व अर्थ व्यबस्थालाई तहसनहस बनाईदिएको छ । कोरोनाको कारण हरेक क्षेत्रमा मन्दी छाएको छ । विश्व महाशक्ति राष्ट्र अमेरिका यही रोगका कारण सर्वशक्तिमान राष्ट्रको पदवी गुमाउने स्थितिमा पुगेको छ । बीबीसीमा जुन २ मा प्रकाशित समचारका अनुसार कोरोनाकै कारण अमेरिकामा मार्च महिनामा ४.४ प्रतिशत रहेको बेरोजगारीे दर मे महिनासम्म बढेर २० प्रतिशत पुगेको छ । यस्तै कोरोनाकै कारण अमेरिकी अर्थतन्त्रले सन् २०२० देखिसन् २०३० सम्म ७.९ ट्रिलियन डलर बराबर क्षति ब्यहोर्न सक्ने अध्ययनले देखाएको छ ।

जसकारण अमेरिकी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन आउन सक्ने देखिएको छ । चीन जसले अनुशासित भएर यस रोग विरुद्घ लड्यो, उसले अनुशासनकै कारण युरोपियन देश र अमेरिकाको तुलनामा कम क्षति ब्यहोरेको छ । आज नागरिकको जिम्मेवारीबोध बिनाको स्वतन्त्रता युरोपियन देश र अमेरिकाको लागी अभिशाप बनिरहेको छ । त्यही स्वतन्त्रताको गलत प्रयोगका कारण आज युरोपियन र अमेरिकन नागरिकले अकालमा ज्यान गुमाईरहेका छन् । कोरोना संक्रमणले सबैभन्दा क्षति विश्वको अर्थतन्त्रमापारेको छ । विश्व अर्थतन्त्र पछि कोरोना संक्रमणले धेरै क्षति पुर्याएको अर्को क्षेत्र भनेको खाद्य क्षेत्र हो ।

खाद्य क्षेत्रमा अहिले उत्पादन र वितरणको तालमेल मिल्न सकेको छैन, यस क्षेत्रको समग्र वितरण प्रणालीनै तहसनहस भएको छ । समयमै खाध्य क्षेत्रको व्यवस्थापनमा ध्यान नदिने हो भने विश्वभरी खाद्यान्न अभावका कारण खाद्य संकटको अवस्था देखिनसक्छ । जसले गर्दा कोरोनाको कारणले भन्दा खाद्यान्न अभाव र भोकमरीका कारण धेरै मानिसले ज्यान गुमाउनु पर्ने देखिन्छ । रोग संक्रमणको डरका कारण अहिले अधिकांश कामदारहरु बाहिर निस्कन सकेका छैनन् । जसले गर्दा खाद्यान्नको उत्पादनको लागी चाहिने श्रमिक, मल, बिउ लगायतको अभावका कारण खाद्यान्नको उत्पादनमा कमी आउनेछ, त्यसको सिधा असर चाँडै विश्वको खाध्य प्रणालीमा देखिन सक्छ ।

खाद्यान्न र रोग प्रतिरोधी क्षमता

कोभिड पूर्णरुप भनेको कोरोना भाईरस डिजिज हो । कोभिड–१९ रोग कोरोनाभाईरसका कारण हुने श्वासप्रश्वाससँग सम्बन्धित एक संक्रमित रोग हो । अहिलेसम्म पनि यस रोगको विरुद्घ कुनै खोप वा औषधि फेला पर्न सकेको छैन । यस रोगको भाईरसले स्वस्थ्य मानिसलाई भन्दा अन्य रोगका रोगीलाई सजिलै संक्रमित बनाउँछ । अहिलेको समयमा यस रोगको संक्रमणसँग लड्ने एउटै मात्र सरल र उत्तम उपाय भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकासनै हो । हरेक मानव शरीरमा कुनैपनि परजीवी वस्तुबाट शरीरलाई सुरक्षित राख्ने शरीरको आफ्नै सुरक्षा प्रणाली हुन्छ । यदि कुनै परजीवी वा शत्रुजीव हाम्रो शरीरमा प्रवेश गरेको खण्डमा हाम्रो शरीरको सुरक्षा प्रणालीले त्यस जीव विरुद्घ प्रतिरोध गर्छ जसलाई हामी हाम्रो शरीरको प्रतिरोधी क्षमता भन्छौ । हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताको विकासमा हाम्रो खानपान र जीवनशैलीको महत्वपूर्ण हात रहेको हुन्छ । पर्याप्त मात्रामा पानी, पौष्टिक तथा स्वच्छ आहार, दैनिक व्ययाम र पर्याप्त निन्द्राले हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पार्ने गर्दछ ।

स्वस्थ मानिसको शरीरको रोग प्रतिरोधात्मक क्षमता रोगी मानिसको तुलनामा बढी हुने हुँदा कुनैपनि नयाँ रोगबाट संक्रमित हुने सम्भावना कम रहन्छ र संक्रमित भइहाले पनि त्यस्ता मानिस छिट्टै निको हुने गर्दछन् । पौष्टिक तथा स्वच्छ खाद्य पदार्थ जसमा पर्याप्त मात्रामा प्रोटिन, भिटामिन, मिनरल, फाइवर आदि शरीरका अत्यावश्यक तत्वहरु पाइने हरियो सागपात, ताजा फलपूmल, दुग्धजन्य पदार्थ, टुसा उमारिएको गेडागुडीको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । यस समयमा अस्वस्थकर र शरीरलाई हानि गर्ने खाध्य पदार्थहरु जस्तै प्रशोधित खाद्य पदार्थहरु, जंक फूड, सुक्खा, अत्यन्त चिल्लो र गुलिया खानेकुराहरु, रक्सी, चुरोट लगायतका हानिकारक चिजहरुको उपभोग सकेसम्म कम अथवा बन्द गर्नु लाभदायक हुन्छ । यस्ता अस्वस्थकर खाद्य पदार्थहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा सकारात्मक प्रभाव पार्दैनन् ।त्यसैले स्वस्थ्य जीवनको लागि सन्तुलित जीवनशैलीको आवश्यकता पर्दछ जसमा पौष्टिक तथा स्वच्छ खाद्यान्नको बिशेष महत्व हुने गर्दछ ।

नेपालको खाद्यक्षेत्र

मानव जीवनको आधारभूत आवश्यकता गाँस, बास र कपास मध्ये खाद्यान्न पहिलो र विकल्प रहित आवश्यकता हो । खाना बिनाको जीवनको कल्पनासम्म पनि गर्न सकिदैन । कोरोना रोगको कारण अर्थतन्त्रपछि खाद्य क्षेत्र सबैभन्दा प्रताडित बनेको छ । कोरोनाको प्रकोप शुरु भए देखि हरेक दिन उत्पादित खाद्य पदार्थ बजार अभावका कारण फाल्नुपरिरहेका समाचारहरु बाहिर आएका छन् ।कोरोनाको समयमा अमेरिकामा मात्रै १ करोड ४० लाख लिटर दूध दैनिक रुपमा फालिएका समाचार बीबीसीमा अप्रिल १३ तारिकमा प्रकाशित भएको थियो । उत्पादनमा एकरुपता, बजारमा गिरावट, भाण्डारण क्षमताको अभाव र व्यवसायमा आएको संकुचनका कारण उत्पादित खाद्य पदार्थ नष्ट गर्नु परिरहेको छ ।

अर्कोतर्फ रोगको संक्रमणको डरका कारण कामदारहरु बाहिर निस्किन सकेका छैनन् जसले गर्दा खाद्यान्नको उत्पादनको लागि चाहिने श्रम, मल, बिउ लगायतको अभावका कारण आगामी दिनमा खाद्यान्नको उत्पादनमा गिरावट आउन सक्नेछ । जसकारण समग्र विश्वनै भोकमरीको चपेटामा पर्न सक्ने देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि दुई दशक पहिलेसम्म हाम्रो देश खाद्यान्नमा धेरै हदसम्म आत्मनिर्भर थियो, केही दशकको अन्तरालमा हामी खाद्यान्नमा पूर्णरुपमा परनिर्भर हुने स्थितिमा पुगेका छौं । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्ष ०७५/०७६ मा हाम्रो देशमा भएको कुल आयात १४ खर्ब १८ अर्ब ५३ करोडको १५.५७ प्रतिशत हिस्सा कृषिजन्य खाद्य वस्तुले ओगटेको थियो जुन २ खर्ब २० अर्ब ९३ करोड रुपैयाँ बराबरको थियो । चालुआर्थिक बर्षको पहिलो १० महिनामा कुल आयात रु १० खर्ब २५ अर्बमध्ये कृषिजन्य खाद्य वस्तुतर्फको आयात १ खर्ब ९६ अर्ब ७५ करोड रुपैंया बराबरको समग्र आयातको १९.१८ प्रतिशत रहेको छ । लकडाउन सुरु भएपछि आँकडालाई आधार मान्ने हो भने अवस्था झनै विकराल देखिन्छ, चैत्र महिनामा५८ अर्ब २९ करोड रुपैयाँको कुल आयात भएकोमा,कुल आयातको २७ प्रतिशत बराबर रकम १५ अर्ब ६२ करोड रुपैयाको कृषिजन्य खाद्य वस्तु आयात भएको छ । त्यस्तै लकडाउन पछिको दोस्रो महिना वैशाखमा ४२ अर्ब ६० करोडको कुल आयात भएकोमा,कुल आयातको ४४ प्रतिशत बराबर रकम १८ अर्ब ५८ करोड रुपैयाको कृषिजन्य खाध्य वस्तु आयात भएको छ ।

यस आर्थिक बर्षको पहिलो १० महिनामा कृषिजन्य खाद्य वस्तुतर्फ १ खर्ब ९६ अर्ब ७५ करोड रुपैयाँमा सबैभन्दा धेरै ४५ अर्ब ५५ करोडको ११,६२,०१५.५ मेट्रिक टन अन्न (धान, चामल, गहुँ लगायत)आयात भएको छ भने, ४१ अर्ब ६० करोड बराबरको तेल तथा वानस्पतीक घ्यू, २६ अर्ब बराबरको ताजा तरकारी, १८ अर्ब २२ करोड रुपैया बराबरको फलफूल तथा नट्स, १५ अर्ब ३७ करोड बराबरको तेलको लागि कच्चा पदार्थ, १२ अर्ब ७९ करोड बराबरको दाना चोक्करको लागिकच्चा पदार्थ, ८ अर्ब ९५ करोड बराबरको चिया कफि मसला, ४ अर्ब ९८ करोड बराबरको मैदा आटा, ३ अर्ब ९७ करोड बराबरको चिनी, १ अर्ब ७३ करोड बराबरको माछा मासु, १ अर्ब ६८ करोड बराबरका दुध तथा दुग्धपदार्थ लगायत थुपै्र अन्य खाध्य पदार्थ रहेकाछन् ।

भारत छोडौ दक्षिण एसियाको सानो मुलुक भूटानसँग पनि हाम्रो गत आर्थिक बर्ष ०७५/०७६ मा १ अर्ब ५१ करोड १३ लाख बराबरको व्यापार घाटा रहेको छ,भने यस आर्थिक बर्ष पहिलो १० महिनामा ७६ करोड ८१ लाख बराबरको व्यापार घाटा रहेको छ ।माथिका प्रकाशित आँकडाले कता कता कृषिप्रधान भनिने हाम्रो देशलाई जिस्काईरहेको जस्तो लाग्छ । हामी उत्पादन र निर्यातमाकति कमजोर छौं भन्ने यी आँकडाले प्रष्ट पार्दछ ।यही समयमा विदेशी मुलुकसँग हाम्रो कुल व्यापारमा आयातको ९२.६ प्रतिशत हिस्सा छ भने निर्यातको ७.४ प्रतिशत हिस्सारहेको छ । माथिका तथ्यांकले के कुरा स्पष्ट पार्छ भने,हामी नेपालीले बाँच्नकै लागि खाद्य पदार्थको अनिवार्यरुपमा आयात गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको देखाउँछ । आगामी बर्षको कृषि मन्त्रालयको बजेट ४१.४ अर्बलाई आधार मान्ने हो भनेपनि गत आर्थिक बर्ष ०७५/०७६ मा भएकोकृषिजन्य खाध्य वस्तुको २ खर्ब २० अर्ब ९३ करोड रुपैयाँ बराबरको आयात कृषि मन्त्रालयको बजेट भन्दा ५.३ गुणा बढी हुन जान्छ ।

यसको ठिक बिपरीत बितेका दुई दशकमा अब्यवस्थित सहरीकरणका कारण हाम्रो प्रशस्त उर्वर कृषिभूमि कंक्रिटको जंगल र घडेरीमा परिणत भएका छन्, खाली भएका कतिपय जमिनमा अझैपनि उब्जाउ गर्नको लागि सिंचाई सुविधाको अभावको कारण आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ, युवापुस्ता विदेशिएकाले गर्दा श्रमिकको कमीले श्रमको मूल्य महँगो भएको छ । व्यवसायीक खेतीको अभाव, महंगो श्रम, प्रविधि प्रयोगको कमीले हाम्रा उत्पादन आयात गरिएको उत्पादनको तुलनामा महँगो पर्न जान्छ । त्यसैले उत्पादन गर्नेले पनि महँगो मूल्यमा आफैं उत्पादन गर्नुभन्दा जमिन बाँझै राखेर सस्तो मूल्यमा आयातित उत्पादन किनेर प्रयोग गर्न थालेका छन् । जसले गर्दा हाम्रो देशको समग्र उत्पादकत्व घटेको छ ।

कृषिमा खाद्य प्रविधिको आवश्यकता

आजको हरेक बिनाशले भोलिको सुन्दर भविष्यको निर्माणको लागि मार्ग प्रशस्त गर्ने गर्दछ । नेपालको कृषि तथा खाद्य क्षेत्रमा पनि कोरोना प्रकरणले परनिर्भर आजबाट आत्मनिर्भर भोलि तर्फ बढ्नको लागि वातावरण निर्माण गरिदिएको छ । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमलाई नारामा मात्रै सीमित नराखी, किसानको तह देखिनै तालिम र प्रविधिको हस्तान्तरण गरी खाद्य पदार्थको उत्पादन बढाउनुपर्ने देखिन्छ । जसले समग्र क्षेत्रको उत्पादकत्वमा बृद्धि भई आयात प्रतिस्थापन गर्दै आत्मनिर्भरता तर्फ देश अगाडि बढ्नेछ । यस क्षेत्रको अर्को मुख्य समस्या भनेको उत्पादित सामानको बजार व्यवस्थापनको कमी पनि हो । अहिले लकडाउनको समयमा तथा लकडाउन पहिले पनि हाम्रा नेपाली उत्पादन बजारीकरणको अभावमा किसानले आफ्नो उत्पादनलाई खाल्डोमा हाल्ने, बाटोमा फाल्ने र खाद्यान्नलाई बारीमै डोजर लगाएर नष्ट गर्नबाध्य भैरहेका छन्, यस्तो अवस्था रोक्नेमा सरकारको ध्यान जान जरुरी छ ।

हाम्रा कृषकका उत्पादनले बजार नपाएर सडाएर फाल्नुपर्ने तर आयातित खाद्यान्न हरेक घरका भान्सासम्म पुग्ने कुराको अन्त्य नभएसम्म किसानले व्यवसायिक रुपमा यस क्षेत्रलाई अंगाल्न सक्दैनन् ।कुनैपनि खाद्य पदार्थलाई बिना प्रशोधन लामो समयसम्म खानयोग्यबनाई राख्नसकिदैन, खाद्य पदार्थलाई लामो समयसम्मजोगाई राख्ने काम आफैंमा चुनौतीपूर्ण छ । खाद्य पदार्थको धेरै उत्पादन हुने समयमा आवश्यकता भन्दा बढी भएको खाद्य पदार्थलाई सहिरुपमा प्रशोधन र भण्डारण गर्ने क्षमताको जबसम्म विकास गरिँदैन तबसम्म खाद्य क्षेत्रको विकास र आत्मनिर्भरता पनि सम्भव छैन । खाद्यान्न उत्पादनदेखि उपभोगको चरणसम्म पुग्दा उत्पादनले विभिन्न तहपार गर्नुपर्दछ, विभिन्न तहमा भिन्दा भिन्दै किसिमका प्राविधिक जनशक्तिको प्रयोग हुने गर्दछ ।

कृषि प्राविधिक र पशु चिकित्सकलाई खाद्य पदार्थको उत्पादनमा लगाएर खाद्यान्नको उत्पादकत्व बृद्धि गरे सँगै खाद्यान्नको प्रशोधन र भण्डारणको चरण आउँछ । स्वस्थ्य र सुरक्षित रुपमा उत्पादित खाद्य पदार्थलाई लामो समयसम्म उपभोग गर्न सकिने गरी राख्नको लागि दक्ष प्राविधिकको सहायतामा प्रशोधन र भण्डारण गरिनुपर्दछ । यसरी उत्पादित खाद्य पदार्थलाई सुरक्षित रुपमा प्रशोधन र भण्डारण गर्नको लागि खाद्य प्राविधिक वा खाद्य वैज्ञानिकहरुको प्रयोग गर्न सकिन्छ । जबसम्म सरकारले उत्पादित कृषिजन्य वस्तुको प्रशोधन, संरक्षण र भण्डारणमा खाद्य प्रबिधिसँग सम्बन्धित जनशक्तिको प्रयोग गर्न सक्दैन तबसम्म post-harvestloss लाई न्यूनिकरण गर्न ज्यादै कठिन छ ।

सन् २०१२ मा प्रकाशित एक आँकडा अनुसार नेपालमा उत्पादित तरकारी र फलपूmल लगायत खाद्यान्नमा विभिन्न कारणले गर्दा उत्पादन देखि उपभागको चरणसम्म पुग्दा उत्पादित बस्तुको २० देखि ५० प्रतिशत क्षति हुने गरेको पाइएको छ । हाल सरकारले खाद्यान्न उत्पादनको लागि पकेट क्षेत्रहरु छुट्याएको छ । पकेट क्षेत्रमा हुने उत्पादनको आधारमा हरेक पकेट क्षेत्रमा सोहि उत्पादनसँग सम्बन्धित खाद्य प्रशोधन उधोगहरु खोलिनु पर्दछ । जसमा आवश्यकता भन्दा बढी उभएको खाद्य पदार्थलाई सहीरुपमा प्रशोधन र भण्डारण गरी राख्नसके माग बमोजिम पछि बजारमा पठाउन सकिन्छ ।जसले गर्दा उत्पादन भैसकेको बस्तुको क्षति कम हुन्छ ।

हालको समयमा राज्यमा हजारौको संख्यामा रहेका खाद्य क्षेत्रका प्राविधिकलाई गुणस्तरीयखाद्यान्न उत्पादन र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउनको लागि परिचालन गरिनुपर्दछ । हाल यस क्षेत्रका हजारौ जनशक्ति राज्यको सहि नितीको प्रतिक्षा र अवसरको पर्खाइमा रहेका छन् । सही ढंगले यस क्षेत्रका जनशक्तिलाई राज्यले प्रयोग गर्न नसक्दा क्रमशः राज्यले लगानी गरेका दक्ष प्राविधिक जनशक्ति अवसरको खोजीमा विदेश पलायन हुन बाध्य भई रहेका छन् । कतिले विदेशका खाद्य उधोगमा त कतिपयले विदेशका विश्वविध्यालयमा आफ्नो दक्षता देखाइ रहेका छन् । यस्तो दक्ष जनशक्तिलाई गुणस्तरीय र स्वच्छ उत्पादनमा राज्यले प्रयोग गर्न नसक्नु आफैंमा बिडम्बना हो ।

खाद्य स्वच्छता

स्वच्छ र सुरक्षित खाद्यान्न उपभोग गर्न पाउनु हरेक उपभोक्ताको नैसर्गिक अधिकार हो । स्वच्छ र सुरक्षित खाद्यान्न उत्पादन गर्नको लागि खाद्यान्नको उत्पादन, प्रशोधन, भण्डारण र विक्रि वितरणसम्म उच्च प्रविधिको प्रयोग गरिनुपर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार दुषित खाद्य पदार्थको प्रयोगका कारण पखालादेखि क्यान्सरसम्म करीब २०० भन्दा बढी किसिमका रोग लाग्ने गरेको देखाउँछ । दुषित खाद्य पदार्थकै कारण हुने पखालाले गर्दा मात्रै हरेक बर्ष विश्वभरी ५५ करोड मानिस बिरामी पर्ने र २,३०,००० मानिसको यसकै कारण मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ ।

दुषित खाद्य पदार्थको उपभोगको कारण मानिसलाई बिभिन्न किसिमका ब्याक्टेरियल र भाईरल रोग लाग्ने गर्दछ । एक तथ्यांक अनुसार दुषित खाद्य पदार्थको कारण हरेक बर्ष विश्वका मध्यम तथा निम्न आय भएका देशहरुले ११० बिलियन डलर बराबरको स्वास्थ्य र अन्य किसिमको क्षति ब्यर्होने गरेका छन् । त्यसैले स्वच्छ र सुरक्षित खाद्यान्न उत्पादनको लागि किसानकै चरणदेखि खाद्यान्न उत्पादन, प्रशोधन र भण्डारणको ज्ञान र सिपको विकास गरिनुपर्दछ । मानव जीवनमा स्वच्छ र सुरक्षित खाद्यान्नको अतिनै महत्व रहेको छ । हामिले खाने खानाको सिधा सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुने गर्दछ ।

कानूनी रुपमा खाद्य स्वच्छताको लागि नेपालको संविधानमै ब्यवस्था गरिएको छ, त्यससँगै खाद्य ऐन–२०२३, दाना पदार्थऐन–२०३३, उपभोक्ता संरक्षण ऐन–२०७६जस्ता ऐन र त्यस ऐन अन्तर्गत बनेका नियमावली, निर्देशिकाहरुले पनि उपभोक्ताको स्वच्छ र सुरक्षित खाद्यान्न उपभोग गर्न पाउने अधिकारकोे सुनिश्चितता गरेको छ ।खाद्य स्वच्छता कुनै एक व्यक्ति, संस्था वा निकायको एकल प्रयासले मात्रै सम्भव छैन । जबसम्म उत्पादक देखि उपभोक्ता र सरकारसम्मले खाद्य स्वच्छताको लागि सचेत र इमान्दार बन्दैनन्, तबसम्म कागजमा भएका कानूनी प्रावधानले मात्रै स्वच्छ र सुरक्षित खाद्यान्नको ग्यारेन्टी गर्न सक्दैन । त्यसैले खाद्य पदार्थमा स्वच्छताको लागि, हामी सबैको प्रतिवद्धता चाहिन्छ ।

त्यसै कारण सन् २०१९ मा कोडेक्स, विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघ अन्र्तगतको खाद्य तथा कृषि संगठनको संयुक्त पहलमा संयुक्त राष्ट्र संघको महासभा बाट पारित गरी, पहिलो पटक सन् २०१९ जुन ७ लाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा विश्वभर मनाउन शुरु गरियो । नेपालमा पनि भव्य रुपमा यो दिवस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा मनाईन्छ । केही दिन पहिले मात्रै हामीले दोस्रो विश्व खाद्य स्वच्छता दिवस मनायौं ।हामीले खाद्य स्वच्छतालाई कुरामा मात्रै हैन अब ब्यवहारमा पनि लागू गर्नुपर्छ । दुषित खाद्य पदार्थको प्रयोगका कारण हुने विश्वव्यापी क्षतिलाई कम गर्नको लागि अब सबैले हातेमालो गर्न जरुरी छ ।

लेखक डेरी टेक्नोलोजिस्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिमा आएको एउटा फ्रेस युवाले अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ

नारायण गाउँले । स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

डा. गोविन्दशरण उपाध्याय । नाम संकीर्तन कलियुगका लागि सबैभन्दा सजिलो, मन पर्ने तथा

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

समृद्धिको सपना देखाएर भविष्य ‘लुट्ने’हरु

नारायण गाउँले । न ठूलो उद्योग, न खानी, न खनिज तेल प्रशोधन, न