वैदिक र अवैदिक कि पूर्वीय ?
डा. गोविन्दशरण उपाध्याय ।
नेपालका अधिकांश विद्वान तथा सर्वसाधारणले आफ्ना लेख तथा विचारहरूमा पूर्वीय दर्शन, पूर्वीय साहित्य, पूर्वीय सङ्गीत, पूर्वीय कलाजस्ता शब्दहरूको बग्रेल्ती प्रयोग गर्नुहुन्छ | निश्चय नै नेपाल र भारतवर्षमा विकसित सबै विधाहरू पूर्वीय हुन् तर पूर्वीयमात्र होइनन् |
पूर्वेलीको अर्थ हो – पूर्वेली भूभागमा विकसित भएका सवै विधाहरू | राजनैतिक भारतको मिचाईलाई प्रतिकार गर्न “पूर्वीय” शब्द प्रचलनमा रहेपछि मूलत: पूर्वीय शब्दले भारतवर्षमा विकसित भएका वैदिक तथा अवैदिक विधाहरूलाई मात्र जनाउँछ | सर्वसाधारण नेपालीले पूर्वीय शब्दको अर्थ बुझ्दा पनि “भारत तथा नेपालमा विकसित भएका विधाहरू” भनेर नै बुझ्ने र बुझाउने गर्छौं |
नेपाली विद्वानहरूले प्रयोग गरिरहेको पूर्वीय शब्दले छिमेकी भारत र नेपालमा विकसित भएका विभिन्न विधाहरूलाई मात्र समेट्ने गरेको छ | चिनीया, जापानी, कोरियन, मंगोलियासम्म फैलिएका अन्य विधाहरूमा मौन छ | हामीले प्रयोग गरेको पूर्वीय शब्द निकै संकुचित छ |
हामीले पूर्वीय शब्दको प्रयोग गर्न सक्छौं तर एसले भारतसहित पूर्वका सबै विधाहरूलाई समेट्नुपर्छ | यदि तेस्तो गर्न सकिएको छैन भने हामीले केवल “भारतेली” शब्दलाई छेक्न पूर्वीय शब्द प्रयोग गरेका हौँ र यो एकप्रकारको आग्रह पनि हो |
भारतवर्षीय भूभागमा विकसित भएका धेरैजसो विधाहरूको अभिलेख संस्कृत, पाली तथा केही तेलगु भाषामा प्राप्त छन् | बौद्ध तथा जैन विधाहरू संस्कृत, प्राकृत तथा पालीमा छन् | द्रविड भाषाहरूमा पनि सामग्री प्राप्त छन् तर यी मध्ये धेरैजसोले वैदिक विधाको प्रतिनिधित्व गर्छन् | मुन्धुमजस्ता केही विधाहरू अवैदिक पनि छन् |
अवैदिक विधाहरू पनि दूई श्रेणीमा विभाजित गर्नुपर्छ – भारतवर्षीय र पराई अर्थात् विदेशी | पाश्चात्य मुलुकमा विकसित भएका सबै विधाहरू अवैदिक हुन् भने मुन्दुमजस्ता स्वदेशमा विकसित भएका विधाहरूलाई पनि अवैदिकमा राख्न सकिन्छ | यी भारतवर्षीय अवैदिक हुन् भन्नुपर्छ | भारतवर्षीय अवैदिकहरूले संस्कृत भाषाको कति प्रयोग गरेका छन् ? साक्ष्य तथा श्रोत खोज्नुपर्छ |
ऐतिहासिक तत्थ्यले भारतवर्षीय भूभागमा विकसित भएका सम्पूर्ण विधाहरूलाई वैदिक तथा अवैदिक रूपमा विभाजित गर्नुपर्छ | अवैदिक भन्नाले ती सबै विचार तथा विधाहरू हुन् जुन् वैदिक, जैनी, बौद्ध वा अन्य सम्प्रदाय इतर स्वतन्त्र विचार राख्छन् | वेदलाई प्रमाणको रूपमा नमाने पनि जैन तथा बौद्धहरू अवैदिक होइनन् तर हिन्दू पनि होइनन् |
तर यहाँ एउटा कुरा प्रष्ट गर्न चाहन्छु – पश्चिमा र पश्चिमा मतियारहरूले आफ्नो सुप्रिमेसी स्थापित गर्न आर्य र गैरआर्य जातका आधारमा लेखेको इतिहासले भनेका कुराहरू अस्वीकार्य हुनुपर्छ | संस्कृत एउटा सुधारिएको भाषा हो, आर्य श्रेष्ठ आचरण गर्ने व्यक्ति वा समुहको नाम हो भने शास्त्र विरुद्ध आचरण गर्ने पण्डित पनि गैरआर्य अर्थात् अनार्य नै हो |
उदाहरणका लागि किराती मुन्दुम अवैदिक दार्शनिक चिन्तन हो | एसले वेदको सम्मान वा विरोध केही गर्दैन | एस्ता अन्य विधाहरू पनि नेपालमा प्रचलित छन् | तेस्तै, मुस्लिम, इसाई, साम्यवादीआदि पराई-स्रोत भएका चिन्तन विधाहरू पनि निसन्देह अवैदिक नै हुन् |
तेसैले पूर्वीय शब्दको प्रयोग गर्नुभन्दा वैदिक तथा अवैदिक शब्दको प्रयोग धेरै विज्ञान र तत्थ्य्य सम्मान हुन्छ |