बुख्याँचा मनुवा
प्रदीप ढकाल ।
डरलाग्दो छ मान्छे
उसको छायाँ मात्रै पनि कहालीलाग्दो छ
उसको प्रतिच्छायाँ मात्रै देख्दा पनि
हजारौँ प्राणी तर्सिन्छन् ….
किन नतर्सिउन् त …
ऊ भर्खरैसम्म चल्मलाइरहेका प्राणीलाई
पलभरमै छिनाउन सक्छ
पानीमा रमाइरहेका जीवलाई
पलभरमै आफ्नो मुखमा लगी टोक्न सक्दछ
आकाशमा उडिरहेका पक्षीलाई
क्षणभरमै समातेर निमोठिदिन सक्दछ …
करोडौँ मानिसलाई एउटै चिहान बनाउन सक्दछ
लाखौँ मानिसलाई घरबारबिहिन बनाई
शरणार्थी बनाउन सक्दछ
हजारौँ चेलीहरुलाई बेश्यालयमा राखी
नारकीय जीवन जिउन बाध्य पार्न सक्दछ
साँच्चि नै डरलाग्दो छ है …
अरुको मात्र होइन
ऊ आफ्नै चिहान पनि आँफै खन्न अभ्यस्त छ
आफ्नै समाजका मानिसहरुलाई
ग्याँस च्याम्बरमा हालेर मारिदिन्छ
विचारका विरोधीलाई
पलभरमै बन्दुकका छर्राले उडाइदिन्छ
व्यापारका अवरोधकलाई
बम र बारुदका धुवाँमा गुम्साइदिन्छ ….
बलिवेदीमा चढिरहेका प्राणीहरु
कसाईखानामा मृत्यु पर्खेर बसेका जीवहरु
जङ्गलमा विचरण गरिरहेका प्राणीहरु
रुखमा आफ्ना बचेरासँग रमाइरहेका पक्षीहरु
एकटक भई हेरिरहन्छन् आफ्ना मृत्यु स्वरुपका मनुवालाई
सुन्दर शरीरमा डरलाग्दो र क्रुर स्वरुप देख्दा
कहालिन्छन सबै प्राणीहरु
अनि डरले काँप्छन् चराचरका असंख्य प्राणीहरु …..
व्यापारिक प्राणी बनेको छ मानव –
आँशु बेचेर सम्पत्ति जम्मा गर्दछ
नाटक बेचेर वैभव कमाउँछ
सपना बेचेर प्रतिष्ठा कमाउँछ
जीवको जीवन बेचेर धन कमाउँछ
आफ्नै समुदायमा निकृष्ट व्यापारी बनेको छ ऊ ….
यी सबै देखेका सृष्टिका अन्य प्राणीहरु
अचम्मित र विस्मातयुक्त नजरले
एकटक भई मनुवातिर हेरिरहन्छन्
मानिसकोे बुख्याँचा नै पनि
पर्याप्त छ – प्राणी जगत् थर्काउनलाई …..