संस्कृत नपढेको मा पश्चाताप !



डा.गोविन्दशरण उपाध्याय

वरिष्ठ प्राध्यापकज्यूहरूले “संस्कृत नपढ्नाले अनुसन्धान गर्दा प्राथमिक स्रोतमा प्रवेश गर्न सकिएन | संस्कृत साहित्यमा भएको बैज्ञानिक पक्षलाई उजागर गर्न सकिएन” भन्दै संस्कृत पढ्ने इच्छा प्रकट गरेको धेरै पटक र धेरै ठाउँमा सुनिएको छ | विश्वविद्यालयहरूले नै संस्कृत शिक्षासंग अन्याय गरेका कारणले उहाँहरूको यो गुनासो जायज छ | अंग्रेजीका माध्यमबाट संस्कृतको जानकारी प्राप्त गर्नु पर्ने र तेसैलाई प्रमाणिक मान्ने पद्धति नै दोषपूर्ण रहेको छ | वैदिक, जैन तथा बौद्ध बांग्मयमा प्रवेश पाउन संस्कृतको ज्ञान हुनैपर्छ |

केही पूर्वाग्रही विद्वानहरू बाहेक धेरै विश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकहरूमा संस्कृतप्रति गहिरो अनुराग रहेको बुझिन्छ | यो हामी सबैका लागि अत्यन्त गर्वको विषय हो | यस्तो स्वाभिमानले हामी नेपालीहरूको मौलिक ज्ञान, विज्ञान तथा दर्शनलाई विश्वब्यापी बनाउन मदत गर्ने छ | दोयम स्रोतका आधारमा सही आजभोली संस्कृत साहित्यमा रहेको ज्ञान-विज्ञानका विषयमा चर्चा, परिचर्चा, आलोचना अठा समालोचनाको क्रम चलेको छ |

एउटा कुरा थप्नुपर्छ, संस्कृत पढेकाले मात्र संस्कृतसंग न्याय गर्छन् भन्नु पनि पूर्ण न्यायसंगत हुँदैन | मैले धेरै यस्ता विद्वानहरू चिनेको र संगत गरेको छु जसले जीवनको उत्तरार्धमा संस्कृत सिकेर, तेही अल्पसिकाईका आधारमा संस्कृतको संस्कृतिलाई विश्व ज्ञानसंसारमा प्रवेश गराउन अनवरत प्रयन्त गरिरहनु भएको छ | यदाकदा त झन् एस्तो सत्प्रयासको निन्दा गर्नेहरूमा संस्कृतज्ञ नै रहेको बुझ्दा मन पोल्छ | आफु पनि केही नगर्ने तर अरूले गरेको कामको आलोचना गरेर कोही ठूलो हुँदैन | सके सघाउनुपर्छ, सकिन्न भने चूप लागेर वस्नुपर्छ |

आफु पनि केही नगर्ने तर अरूले गरेको कामको आलोचना गरेर कोही ठूलो हुँदैन | सके सघाउनुपर्छ, सकिन्न भने चूप लागेर वस्नुपर्छ |

संस्कृतको संस्कृतिलाई सहज र सर्वसुलभ नबनाएसम्म यो स्वीकार्य हुँदैन | अहिलेको समय संस्कृतको विस्तारका लागि निकै अनुकुल छ | विश्वले पनि प्राचीन संसारतिरको ज्ञान, विज्ञान तथा दर्शनको अध्ययन/अध्यापन गर्न अभिरुचि देखाउन थालेको छ भने इन्टरनेटआदि संचार मध्यमहरूले एकछिनमा संस्कृतको संस्कृतिलाई विश्वब्यापी बनाउने क्षमता राख्छ | यस्तो अनुकुलताको अवस्थामा संस्कृत तथा अंग्रेजीको ज्ञान भएका विद्वानहरू अगाडी सर्नुपर्छ | संस्कृतको ज्ञान नभएका विद्यानुरागीहरूलाई अनुसन्धानमा सघाउन संस्कृतज्ञ तम्सिनुपर्छ | साथै, विविका प्राध्यापकहरूज्युहरूले आफ्ना विद्यार्थीहरूलाई मूलधारमा रहेको ज्ञान खोज्न प्रेरित र प्रोत्साहित गर्नुपर्छ | अनुवादका साथैं प्राथमिक स्रोत बुझ्न, जान्न र लेख्न (सिद्धान्त विनिर्माण) तिर उत्साहित गर्नुपर्छ |

विदेशीले गरेको अनुवाद नै प्रमाणिक हुन्छ भन्ने मनोविज्ञान पनि ठीक होइन | नेपाली वा हिन्दीमा गरिएका अनुवादहरू पनि उम्दा हुन्छन् |संस्कृतग्रन्थहरू अंग्रेजी अनुवादको सट्टा नेपाली अनुवादमा पढ्दा धेरै बुझिन्छ, खास गरी नेपाली वा हिन्दीले भाषागत भावको रक्षा गरेको हुन्छ | अंग्रेजी अनुवादमा भाव दुषण दोष हुन्छ नै | योनिको अर्थ “प्राणी” पनि हुन्छ भन्ने ज्ञान संस्कृतको ज्ञान नभएका अंग्रेजी अनुवादकलाई हुँदैन |

अंग्रेजी वा अन्य पाश्चात्य भाषामा गरिएका/भएका अनुवाद सबै नराम्रा वा अस्वीकार्य छैनन् तर धेरैजसो कि ठाडो अनुवाद गरिएको छ अथवा मूल मर्म विपरित मार्केटिंग मोडेलमा अनुदित गरिएको छ | कामसूत्रको अंग्रेजी अनुवादले कामसूत्रको आत्मालाई नराम्रोसंग छियाछिया पारेको छ | अर्कोतिर अहिलेको राजनैतिक नेतृत्वमा संस्कृत भनेको केवल “कर्मकाण्ड” गर्ने माध्यम हो र यो समय सापेक्ष छैन” भन्ने पूर्वाग्रही चिन्तनले पनि निकै नोक्सान गरिरहेको छ | कामसूत्रमा ६४ विद्याको नाम दिइएको छ भन्ने धेरैलाई थाहा नै छैन तर “सेक्स-आसन”को वारेमा धेरैलाई जिज्ञासा छ | कामसूत्रले चौसट्ठी विद्या मध्ये एउटा काम विद्याको विषयमा परिचर्चा गरेको छ तर “सेक्स-आसन” प्राथमिकतामा छैनन् भनेर बुझ्न बत्स्यायनले लेखेको संस्कृतको “कामसूत्रम्” पढ्नै पर्ने हुन्छ | हामी यहीं चुक्ने गरेका छौँ |

कामसूत्रमा ६४ विद्याको नाम दिइएको छ भन्ने धेरैलाई थाहा नै छैन तर “सेक्स-आसन”को वारेमा धेरैलाई जिज्ञासा छ |

चौसट्ठी विद्या मध्ये कर्मकाण्ड र कामसूत्र पनि पर्छन् | ज्योतिष, खगोल, वास्तुशास्त्र, शस्त्रविद्या, नृत्यविद्या, गायन विद्या, आयुर्वेदआदि धेरै विधाहरूको गहिराईमा पुग्न हामीले त्याग गर्नुपर्छ | संस्कृत नजानेका तर संस्कृतको प्राथमिक स्रोत प्रयोग गर्ने चाहनेहरूले संस्कृत विद्वानहरूसंग विनम्रतापूर्वक सहयोगका लागि आग्रह गर्ने विनयभाव हुनुपर्छ भने संस्कृत विद्वानहरूमा पनि सहयोगी भावना हुनैपर्छ | मेरो अनुभवमा, संस्कृतका विद्वानहरूमा सहयोगी भावना अलि बढी नै देखिन्छ | मैले केही स्वनामधन्य संस्कृतका विद्वानहरूले निशुल्क रूपमा सहयोग गरेको धेरै ठाउँमा भेटेको छु | अनुसन्धातामा विनय र जिज्ञासा छ भने धेरैजसो गुरुहरूले सहयोग नै गर्नुहुन्छ भन्ने मेरो विश्वास र आस्था छ |

मैले सुनेअनुसार आज पनि नेपालको पुरातत्व बिभागमा करिव ५० हजार दुलभ हस्तलिखित ग्रन्थहरू संग्रहित छन् | विदेशीले आएर खोजिदिए हामीले स्वामित्वको दावी गर्ने तर आफै भने अनुसन्धाताका रूपमा ती पुस्तकहरूको विषयवस्तु खोज्न र प्रकाशनतिर ध्यान नदिनु पक्कै पनि उचित होइन | हाल देशमा ११ बटा विश्वविद्यालयहरू खुलेका छन्, ती विश्वविद्यालयहरूले सहकार्य गर्दै एउटा पचीसवर्षीय लक्ष राखेर पुरातत्व विभागमा संग्रहित हस्तलिपिहरूको ऊद्धार गर्नुपर्छ | यदि पश्चिमाहरूले प्लेटोको एकेडेमीका आधारमा आधुनिक कक्षा चढ्ने शिक्षा प्रणालीको विकास गर्न सक्छन् भने हामी नेपालीहरूले त्यो भन्दा धेरै प्रगतिशील शिक्षाको विकल्प प्रस्तुत गर्न सक्छौं | तर अनुसन्धान र खोज त हामीले नै गर्नुपर्छ | नत्र पुन योग चाहिं योगा भएर फर्किने छ |

हाल देशमा ११ बटा विश्वविद्यालयहरू खुलेका छन्, ती विश्वविद्यालयहरूले सहकार्य गर्दै एउटा पचीसवर्षीय लक्ष राखेर पुरातत्व विभागमा संग्रहित हस्तलिपिहरूको ऊद्धार गर्नुपर्छ | यदि पश्चिमाहरूले प्लेटोको एकेडेमीका आधारमा आधुनिक कक्षा चढ्ने शिक्षा प्रणालीको विकास गर्न सक्छन् भने हामी नेपालीहरूले त्यो भन्दा धेरै प्रगतिशील शिक्षाको विकल्प प्रस्तुत गर्न सक्छौं |

मैले यहाँ संस्कृतका पक्षमा लेखिरहंदा केहीलाई “संस्कृतको पक्षधर” भन्ने पनि मनमा पर्नु स्वभाविक हो | मेरो लागि नेपालका मात्रै होइन विश्वकै सवैभाषाहरू उत्तिकै महत्वपूर्ण लाग्छन्, सके जान्नुपर्छ | तर संस्कृत प्राचीनभाषा भएर पनि एतिविध्न लेख्यसामग्रीहरूले सुसम्पन्न छ कि अझैं पनि अंग्रेजीमा लेखिएका सिद्धान्तहरू एतिकै हाराहारीमा छन् भन्न सकिन्न | जुन भाषा परिस्कृत हुन्छ, जुन भाषाको लेख्य र सृजनशीलता जीवित हुन्छ र जुन जीवन-जगतको ब्यबहारसंग जोडिएको छ – यी सबै विशेषता संस्कृतभाषामा छन् | एउटा दर्शनशास्त्रको विद्यार्थीको रूपमा संस्कृत-साहित्य र वाग्मयमा उपलब्ध विषयवस्तुको गाम्भीर्य पढ्दा निकै रोमान्चित हुन्छु | ऋषिमुनिहरूको विनम्रता र सृजनशीलता सोचेर दंग पर्छु | संस्कृतको गम्भीरता बुझ्न संस्कृतको सङ्गत त गर्नैपर्छ |

अन्तिममा, संस्कृतमूलधारमा अनुसन्धान गर्न इच्छुक तर संस्कृतको ज्ञान नभएका विद्वानहरू तथा अनुसन्धाताहरूले चाहेको खण्डमा उहाँहरूलाई सहयोग गर्न/गराउन तयार छु | आफ्नो जरोकिलो खोज्ने, तेसको रक्षा गर्ने र तेसलाई विश्वब्यापी बनाउने काम हाम्रो हो | हामीले न गरे, कसैलाई केही चासो हुँदैन | जिज्ञासा, विनय, निरन्तरता तथा स्वधर्म, स्वसंस्कृति तथा आफुप्रति स्वाभिमान र आत्मविश्वास हुनुपर्छ | संस्कृतलाई हामीले सहयोग गरौँ, संस्कृतले हामीलाई विश्वविजयी, विश्वगुरूका पदमा स्थापित गर्ने क्षमता राख्छ |

स्वस्तिअस्तु |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के नेपालमा कुनै व्यक्तित्व राष्ट्र निर्माता वा राष्ट्रपिता नभएकै हो त ?

भीम उपाध्याय । नेपालमा राजतन्त्रको पालामा कार्यालयहरूमा एकताका प्रतिक मानेर राजारानीको तस्बिर हुने

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो

डा. गोविन्दशरण उपाध्याय । चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित

पिंजडाको सुगाको कथा

डा. गोविन्दशरण उपाध्याय । एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र

एउटा पिंजडाको कथा

डा. गोविन्दशरण उपाध्याय । एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र