पत्रकार सुजीत झाले खुसी
जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको छ । जनकपुरधाममा शिक्षा क्षेत्रमा नाम कमाएका तथा मोडल कलेजका संस्थापक वीरेन्द्र कुमार साहको जीवनी तथा उनका संघर्षका कथाहरुलाई समेटेर मैथिली भाषामा लेखिएको पुस्तक ‘खुसी’ रहेको छ ।
पुस्तकको लोकार्पण पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै पोखरेलले सफलताको खुसी पाउनलाई धैर्यको बाँध टुट्न दिनु हुँदैन बताए । प्रदेशसभा सदस्य एवं मधेसका पूर्व मन्त्री रामसरोज यादवले खुसी पुस्तकले लक्ष्य प्राप्तिका लागि पाठक वर्गलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अर्का प्रदेशसभा सदस्य रामअशिष यादवले जस्तोसुकै कमजोर स्थितिमा रहेपनि लक्ष्य हासिल गर्न सकिने, संघर्ष गर्दै कसरी अगाडी बढ्ने र कठीन परस्थितिमा पनि आफ्नो अनुकुल वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषय वस्तु खुसी पुस्तकमा समेटिएकाले समाजका लागि उपयोगी पुस्तक साबित हुने बताए ।
नेपाल राजनीतिशास्त्र संघका अध्यक्ष विजय सिलवालले कुनै पनि व्यक्तिलाई देवता बनाउन तर्फ नलाग्न आग्रह गरे । उनले भने ‘कुनै पनि सफल व्यक्तिलाई देवता बनाउनु हुँदैन, असल बनाउन तर्फ लाग्नु पर्छ ।’ सिलवालले खुसी पुस्तकका लेखक सुजीतजी त्यसमा न्याय गरेको बताए ।
उनले खुशी पुस्तक प्रेरणादायी पुस्तक त छँदैछ यसले मैथिली साहित्यको श्रीबृद्धि गरेको बताए । लेखक सुजीतजीले यो पुस्तकको माध्यमले मैथिली भाषाको सेवा समेत गरेको उनको भनाई थियो ।
प्राध्यापक डा. लाभले खुसी पुस्तकले एउटा बहादुरको कथा भनिरहेको छ, खुशी पुस्तककले बहादुरको इतिहास लेखेको बताए । उनले मोडेल कलेजका संस्थापक वीरेन्द्र साहले जसरी आफ्नो सफलताका यात्रा तय गर्नुभयो र त्यसलाई लेखक सुजीतजीले आफ्नो शब्दहरु दिएर जसरी खुसी नामक पुस्तकको आकार दिनु भयो यसकालागि दूबैजना बधाईको पात्र रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मोडेल कलेजका संस्थापक वीरेन्द्र कुमार साह र खुशी पुस्तकका लेखक सुजीतकुमार झा दूबैजनाले जनकपुरधामलाई खुसी हुने मौका दिको बताए । उनले वीरेन्द्रजी शिक्षाको माध्यमले र सुजीतजीले यो पुस्तकको माध्यमले हामीलाई खुसी हुने अवसर दिएकाले दूबैजना बधाईको पात्र रहेको बताए ।
कार्यक्रममा खुशी पुस्तकका मुख्य पात्र एवं मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले आफ्नो जीवनका भोगाईहरु साझा गरे । उनले ईच्छाशक्ति भए आफ्नै मातृभूमिमै रहेर केही गर्न सकिन्छ, लक्ष्य प्राप्त गर्न सकिन्छ बताए ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले वर्तमान समयमा युवाहरुमा कठिन परस्थितिको सामना गर्ने क्षमताको अभाव रहेको बताउँदै खुशी पुस्तक र खुसी पुस्तकका पात्र वीरेन्द्र साहको जीवनले पक्कै कठिन परस्थितिमा कसरी अगाडी बढ्दै जाने हो भन्ने शिक्षा दिने बताए ।
मैथिलीका गायक एवं संगीतकार सुनिल मल्लिकले जनकपुरधाम शिक्षाको क्षेत्रमा विकास गरिरहेको समयमा संस्कारको महल खडा गर्न तर्फ समेत केन्द्रित हुनु आवश्यक रहेको बताए । पछिल्लो समयमा युवा पुस्तामा संस्कारको अभाव देखिएको समयमा शैक्षिक क्षेत्रको माध्यमले के गर्न सकिन्छ भन्ने विषयमा बहसको आवश्यक्ता रहेको बताए ।
मल्लिकले कुनै सफल व्यक्तिको संघर्षका दिनहरुलाई जोडेर सफलताको कथा लेख्नु सामान्य विषय नरहेको बताउँदै पत्रकार एवं लेखक सुजीतजी यो पुस्तक लेखेर मैथिली साहित्यमा गुण त लगाउनु नै भएको छ यसका साथै युवा पुस्ताकालागि ठूलो उपहार दिएको बताए ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले एउटा संचारकर्मीले संचारकर्म जस्तो संघर्षशील पेशामा लागेर भएपनि सुजीतजीले मैथिली भाषा साहित्यमा योगदान गरिरहनु भएको छ यो हाम्रोलागि खुसीको विषय रहेको बताए । उनले भने ‘लेखक सुजीतकुमार झा हाम्रो शाखाको सदस्य हुनु हुन्छ, हाम्रो अभिभावक पनि हुनुहुन्छ त्यसैले यो हाम्रोलागि गौरवको क्षण हो ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्णले मैथिली भाषा साहित्यमा पछिल्लो समय कम काम भईरहेको समयमा यो पुस्तक आउनु सुखद संकेत रहेको बताए । उनले जनकपुरधामको विकासका लागि विभिन्न क्षेत्र तथा विधामा काम गर्नु आजको आवश्यक्ता रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मनोज चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठ, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, पुस्तकका लेखक सुजीतकुमार झा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
पत्रकार झाको पुस्तक ‘खुसी’ १७ औं कृति हो । यस अघि विभिन्न विधामा उनको १६ वटा कृति प्रकाशित भइसकेको छ ।