लघुकथा : अपेक्षा
प्रभादेवी पौडेल।
केही महिना अगाडि फेसबूकको वालमा नियालेर हेर्दा थुप्रै साथी बन्ने नामहरु आएका रहेछन्।कुनै एउटा अपरिचीत अनुहारमा नजर पर्यो। मैले धेरै सोचेर स्विकार गर्याँ। एकछिन पछि आभार दिदी भनेर म्यासेन्जरमा म्यासेज आयो। मैले पनि भाइ भनेर कुरा अघि बढाएँ।
भाइले बिहानको शुभकामना देखि बेलुकाको शुभरात्रि सम्म दैनिक पठाउॅने गर्नथाले। मैले पनि हेर्न मेसो परेको दिन हेरि पनि हाल्थें तर प्राय हेर्न बिर्सन्थें। कता कता मनले के सोच्यो म्यासेन्जर हेरें। धेरै दिन भएको थियो उसको कुनै म्यासेज नआएको। लाग्यो कामको ब्यस्थताले होला फेसबूकमा दिदी भाइ नाता त लागी हाल्छ नी तर खै किन मनले खोज्यो।तर सम्पर्क हुन सकेन।
भाइ टीकाको दिन थियो। मैले टीकाको फोटो फेसबूकमा राखेकी थिएँ।तुरुन्तै म्यासेन्जरमा म्यासेज आयो। मैले पढेँ ।जसमा लेखिएको थियो,-” दिदी ! म भर्खर हस्पिटलवाट डिस्चार्ज भएर आश्रममा आई पुग्यां ,हजुरको तिहार सकेपछिको रहल पहल मिल्छ भने मेरो नाम पारेर पन्छाई दिनूहोला ,यदी यमराजलाई दया लागेछ भने अझै बाच्न पाउॅछु की दिदी।”