‘तपाईंले जिन्दगीलाई राजनीति बनाउनु भो’
तपाईंले जिन्दगीलाई राजनीति बनाउनु भो ।
सुल्टो–उल्टो सबै दाउपेच चलाउनु भो ।
इलम सुन्ने जिन्दगीमा कमाई सबै विदेशिएका कलिला हातहरूको उपहार हो भन्नु भो ।
राजनीति नछोड्नुहोस है यो पार्टी, यो शहर, यो देश तपाईंकै कब्जामा रहिरहनु पर्छ ।
किनभने २०४६ अघि पछि यो देश, यो समाजलाई यस्तै अवस्थामा राखिराख्ने ल्याकत तपाईंमा मात्रै छ ।
राजनीति छोड्नु भो भने के गर्नु हुन्छ ? के भन्नु हुन्छ ?
हल्लनेलाई हल्लनदास भन्छन् नेता भन्दैनन् ।
त्यसैले बिन्ती राजनीति नछोड्नुहोस् ।
त्यसैले क्रान्तिका चर्का कुरा गर्नुस् अर्काकि स्वास्नी समात्दालागेका खतलाई क्रान्तिको प्रमाण भन्नुहोस् ।
बिन्ती राजनीति नछोड्नुस् ।
जिन्दगी भरि राजनीति गर्नु भो अब के गर्नुहुन्छ ?
त्यसैले राजनीति छोड्ने पटक्कै नसोच्नुस् ।
छोरो गए भाँडमे, छोरी गए भाँडमे ।
खुबि हुने छोरो निस्कन्छ, खुबि नहुनेले हलो जोत्छ ।
एउटा छोरो हलै जोत्नै भने पनि राख्नु पर्छ ।
बुहारी तपाईंले कति बेला गफ चुटेर भ्याउनुहोला भनेर भात कुरेर बस्छे ।
तपाईं दुई खिल्ली चुरोट एक सासले तान्नुस्,
पाए पान नपाए पान–पराग मुखमा कोच्नुस् नेताको मुख रातो हुनै पर्छ, दाँतमा खिया लाग्नैपर्छ ।
दुनियाँ कहाँ पुग्यो नेताले सोच्ने होइन त्यो दुइ–चार अक्षर पढेकालाई छोडी दिनुस् ।
नातिको जिम्मा लिने होइन,
तिन पुस्ताको जिम्मा लिन सकिँदैन ।
बस्, स्टरकोट टकटकाउनुस !
भुँडी भरिएको छ भने कर्के नजरले
बुहारीलाई खाना नमिठो भएको संकेत गर्नुस् ।
भुँडी खाली छ भने सपासप भात खानुस् ।
एकछिन आराम गर्नुस् र बुढी गन्गनाउन भन्दा पहिले घर छोड्नुस् र दलेका पछि लाग्नुस् ।
दलेका पछि नलागेर के गर्नुहुन्छ ?
दिनको २२ कप चिया, चना तरकारी कस्ले मोफतमा तपाईंको भुँडी भर्दिन्छ ?
दलेका पैसा पर्दा २,४ हजार तपाईंका स्टकोटका खल्तीमा परिहाल्छ ।
हल्लनदासले देश चलाउने अवसर गुमाउनु हुँदैन ।
हामी हल्लनदासहरू एक हौँ ।
काम हुने काममा व्यस्त हुन्छ उ सगँ समयनै कहाँ हुन्छ र ?
त्यसैले देश चलाउने फुर्सद हामी सगँ छ, देश चलाउने जिम्मा हामीलाई छ ।
केही जानिएन भने लैनचौर स्कुल जाउँला,
चक्रपथ स्कुल जाउँला,
कमल पोखरी स्कुल जाउँला ।
हाम्रो कान्जिहाउस पनि त्यही हो,
हामीले टिका थाप्ने पनि त्यही हो ।
देश जाए भाँड्मे एउटा छोरो त घरै हलो जोत्न पनि चाहिन्छ ।
दुनिया कहाँ पुग्यो त्यो दुई–चार अक्षर पढ्नेलाई थाहा होला ।
सिरोज विजय कोइराला ।