लघुकथा: फेरिएको बाटो
प्रभादेवी पौडल।
मलाई घर पायक जागिर मिलेको भएपनि केही समय मिनी बसमा जानु पर्थ्यो। दैनिक आवत जावतको क्रममा म झै एकजना पुरुष पनि त्यही बसमा आउॅने जाने गर्दथ्यो। अफिस फरक भएपनि बाटो एउटै हुनाले प्राय संगै हुन्थ्यौं।परिचय गर्ने क्रममा उसले भन्यो,-“भित्री नाम भनौं की बाहिरी ?” यो सुनेर मलाई निक्कै हाँसो लाग्यो । मैले सोधें ,-“नाम पनि भित्री र बाहिरी हुन्छ र भन्यां?”उसले हाॅस्दै उत्तर दियो ,-“रासिको नाम भनेको नी ।” मलाई ऊ निक्कै रमाईलो लाग्यो ।
उसले कुराकानीको क्रममा धेरै कुरा भन्यो। कुरा सुन्दा सहानुभूति पनि जागेर आयो। बिचरा पत्नी पिडित रहेछ , उसका कुरा सुन्दा नारीले पनि यस किसिमको हर्कत गर्न सक्छे र भनि नारी हृदय माथि प्रश्न चिन्ह उठाइदियो। तर म बिबाहित मान्छे के नै गर्न सक्थें र ?
दिनहूँ आवत जावतको क्रममा किन किन ऊ प्रति मेरो प्रेम र सद्भाव जागेर आयो।ऊ आएको छ की छैन भन्दै मेरा आँखा सबैभन्दा पहिला उसैको खोजीमा दौडन्थे। गाडीमा सीट नपाएर उभिंदा ऊ मेरो नजिकै उभिन्थ्यो र सानो ब्रेक लगाऊँदा पनि सरीर पुर्है मै तिर छोड्दिन्थ्यो। मलाई कता कता काउकुती लाग्दथ्यो।
अर्को मनले भन्दथ्यो घरमा त्यती माया गर्ने लोग्ने छ सानो सुखी परिवार छ म अब यो संग टाढिनु पर्छ,मन न हो यो दुनियामा कस्ता कस्ता अपत्यारिला घटना घटेका छन्।त्यो दिन मैले अब देखि कुनै तर्किने उपाय रचेर घर फर्किएँ।
भोली पल्ट म केही बेर ढिला भए पनि अर्कै मिनी बसमा चढें। मिनिबस भरिएको हुनाले ढोका नेर डन्डी समाएर उभिएँ । यता उता नजर घुमाएँ , फेरि आँखा ठोकिए उही परिचीत अनुहार सँग। ऊ त पहिला देखि आएर सिटमा बसेको रहेछ।म दंग भएँ। सोच बदलिए पनि यात्रा के कारणले एउटै गाडीमा पर्न गएछ मैले बुझ्न सकिन।