लघुकथा : माईती
प्रभादेवी पौडेल।
-“छोरी यसपाली त खबरै नगरी आयौ त बा ” भन्दै माईती आएकी छोरीलाई आमाले भनिन्। -“बाबुको पनि एक महिनाको बिदा छ आमा घरमा बस्दा बस्दा नियास्रो लागेर आएकि नी “भन्दै हातको झोला पिंढीको एउटा छेउमा बिसाएर आमाको नजिकै बसी सरला।-“खोई त आमा दाजु भाउजु देख्दिन त अनि बर्षा र आकाश खोई?” उसले सोधि। -“बिदाको दिन भएकोले छोरा छोरीलाई के जाती हो नाम पनि आउॅदैन मलाई त, त्यही घुमाउन जाउलाखेल तिर गएका छन्।” -“जु होलानि आमा।” हजुर आमाका कुरा सुन्ने बित्तिकै रामुले भन्यो,-” मामु म पनि जु जाने।”
बेलुका साझ परेपछि गाडीमा घरका बाहेक अरु चारजना थपिएर आए। त्यो दिन तिनीहरु चिडिया घर नगई माईतीमा बहिनीको जन्मदिन मनाएर आएका रहेछन्। घरमा आउने बित्तिकै भाउजुले भनिन् ,-” आज त निक्कै थाकियो मैया, हजुर आएपछि केको पीर?” भन्दै कोठा भित्र पसिन्।सरलाले आफू तीनजनालाई खाना पकाइन्। भोली पल्ट भयो सबै जु गए रामु अटाएन।मामाले भने बाबु अर्को दिन है ? यिनीहरुलाई घुमाउन कै लागि ल्याएको हो” भन्दै हुॅइकिए।
रहॅदा बस्दा दाजु भाउजुका ब्यबहार निक्कै फरक हुँदै गयो।एकदिन आमा र भाउजुको ठुलै चर्का चर्की पर्यो ।वरिपरिका पनि जम्मा भए।सरलाले यसोमा यसो के भन्न लागेकी थिई भाउजुले भनिन्,-” पहीले चुँ नबोल्ने मान्छे अहिले छोरीको आड पाएर यस्तो ।” अर्कीले भनि,-” यति मिलेको परिवार छोरीको कारणले भाॅडियो।” अर्कीले भनि, -“दूई चार दिन पो हुन्छ र कति बसेकी माईतीमा ।” अर्कीले भनि,-” छोरी पाल्ने ले बुहारी सहदैनन् भन्थे साची रहेछ।” त्यतिनै बेला छोरो रुँदै आएर भन्यो, -“मामु आकाश दादाले पिटी रहन्छ घर जाउँ ।” मनको घाउ निको नहुँदै उ भोलिपल्टै सिधै अदालत पुगि र भनि , -“वकिल साहेब मैले एकमहिना अगाडी दिएको मुद्दाको फाइल निकाल्नुहोस् त।”