लघुकथा : देवी र रण्डी
इन्दिरा प्रसाई
•••
त्यस बेला पृथ्वीवासीको सुखशान्तिका लागि देवी अम्बिका पृथ्वीमै बास गर्थिन् । देवी अम्बिकाका प्रभावले गर्दा सारा पृथ्वीमा अमनचैन कायम थियो ।
एक दिन मध्यान्नका समयमा सदाझैँ देवी अम्बिका आफ्नो आरामगृहमा ढोका थुनेर आराम गरिरहेकी थिइन् । त्यसै बेला मानिसहरूलाई ‘यी देवी ढोका थुनेर भित्र के गर्छिन्’ भन्ने लागेछ र तिनीहरू देवीका ढोकामा कान थापेर भित्रको चाल बुझ्न लागे । उनीहरूलाई भित्र पुरुषस्त्री प्रेमालापमा भएको आभास भयो । आफूलाई कुमारी कन्याका रूपमा प्रस्तुत गर्दै आएकी देवीको यस्तो चालाले ती पुरुषहरू देवीमाथि सशङ्कित भए । अब ती पुरुषहरूले देवी अम्बिकालाई हरेक दिनजसो चियो गर्न लागे । उनीहरूको शङ्का दिन दुईगुना रात चारगुना बढ्दै गयो ।
आखिर एक दिन यस्तै समयमा ती पुरुषहरू देवी अम्बिकाका कोठाको ढोका फोरेर भित्र पसे ।
उनीहरू भित्र पस्नासाथ देवी अन्तर्ध्यान भइन् । कोठामा देवीलाई नै नभेटेपछि ती पुरुषहरूलाई आफूहरूले गरेको बेठीक कर्मको आभास भयो । अब देवीका कोपभाजनबाट पृथ्वीले भोग्नु पर्ने विपत्ति सम्झेर ती पुरुषहरू देवीको आराधना गर्न लागे ।
‘हे पुरुष हो ! तिमीहरू आफ्नै कर्म र आफ्नै बुद्धिले नारीलाई देवी र रण्डी बनाउँदा रहेछौ । तिमीहरूजस्ता अविश्वासीसँग सरसङ्गत गर्नु मलाई निको लागेन । अब तिमीहरूमाझ म कहिल्यै सशरीर आउने छैन ।’ देवी अम्बिकाको आकाशवाणी सुनिएको थियो ।
त्यसपछि ती पुरुषहरूले जतिसुकै भक्ति र आराधना गर्दा पनि देवी अम्बिका पृथ्वीमा फर्केर आइनन् र पृथ्वीमा पनि सदाकाल अशान्ति बढेर गयो ।
•••
(बयान : लघुकथा सङ्ग्रह : २०५५ बाट साभार)