‘हो साथी , तिमी जस्तै म अहोरात्र खट्छु’
के छ र फरक तिमी र
ममा?
तिमी पनि बोक्छौ,
म पनि बोक्छु।
तिमी आफ्नो मालिकको भार बोक्छौ,
म मेरो।
हामी दुबैको कर्म एउटै हो,
नियती एउटै हो।
यद्यपि म मेरो मालिक छान्न पाउंछु,
तिमी पाउन्नौ,
म बिद्रोह गर्छु,
सङ्गठन बनांउछु,
धर्ना बस्छु,
तर तिमी सारै बफादार छौ।
त्यसैले त मेरो मालिक मलाई तिमी बनाउन चाहन्छ,
तर म तिमीलाई म जस्तो बनाउन चाहन्न।
किनकी म छल्न सक्छु,
चोर्न सक्छु,
तिमी जस्तालाई दल्न सक्छु,
आफ्नो मत्लब अनुसार रंग बदल्न सक्छु,
मालिकको जुत्ता चाट्न सक्छु।
अनि म मालिक हुने सपना बोक्छु,
कसैलाई किन्छु,
कसैलाई दिन्छु,
कसैलाई बोक्छु,
कसैलाई रोप्छु,
कसैलाई फुटांउछु,
कसैको कान फुक्छु,
कसैको सम्मानमा भुक्छु।
हो साथी , तिमी जस्तै म अहोरात्र खट्छु,
तर म पृथक छु,
म एक अनौठो गधा हुं,
भिन्नै प्रजातिको।
विश्व कार्की ।