विपद्मा सम्झिने गाउँ
विपद्मा सम्झिने गाउँ
आइपुगे आमा महामारी चल्दा भागेर म त गाउँ
आपत्तको बेला भागेर जाने नपाउँदा अन्त ठाउँ
दुईचार दिन बस्छु मेलापात गर्छु म उतै गैहाल्छु
बिपत्ती मात्रै टरोस न आमा, सहरिया भैहाल्छु ।
गाउँको मायाँले म आको हैन, आफ्नो ज्यान बचाउन
अग्र्यानिक खाना र स्वच्छ हावापानीले रोगलाई भगाउन
बसुन्जेल घरमा सघाई टोपल्छु भन्दिनुस आमा काम
घुमेर आउछु गाउँघर सबै बिताका हिजो ठाउँ
बिर्सेछु आमा काम गर्न मैले हात ठ्याक्कै लाग्दैन
फेसबुक चलाउन पाएसी आमा हात थाक्दै थाक्दैन
छर्नु छ मकै चिर्नु छ दाउरा आलु नि गोड्नु छ
खोरभरी बाख्रा गाई भैंसी टन्नै अघा र छोड्नु छ
पाकेर गहु बग्रेल्ती भा छन भित्र्याउने कोही छैन्
किसानका पीडा किसान सङ्गै छन बुझ्दिने कोही हैन
मेला र पात गाईभैंसी बाख्रा हाल्नलाई छैन घाँस
भन्दैथिन आमा कसरी काटम त्यो भिरको मैले बाँस
बा आमालाई दिनरातै हैरान न खान पाउनु भात
हुर्काउन सन्तान कटाउनु भाथ्यो भोकभोकै कति रात
सम्झिदा रैछन सन्तानले सधैं दुखमा मात्रै गाउँ
बिपत्तको बेला भागेर जाने नपाउँदा अन्त ठाउँ
काम गर्ने बेला बुढा बा आमा छोडेर हिड्नेले
बस्दिन गाउँमा भनेर बाटो मोडेर हिड्नेले
भुकम्प आउँदा महामारी चल्दा सम्झिदा रैछन गाउँ
बिपत्तको बेला भागेर जाने नपाउँदा अन्त ठाउँ
तुलसी स्पन्दन,काठमाडौं