यसकारण मैले विप्लव समूह परित्याग गरेंः कृष्णप्रसाद धमला



काठमाडौं, ७ मंसिर । नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी जीवन यापन गरेका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै पोलिट्ब्युरो सदस्य कुष्णप्रसाद धमला (गम्भीर) ले पार्टी परित्याग गरेका छन् । यही मंसिर ३ गते विज्ञप्ति जारी गर्दै उनले  उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र वामपन्थी रहँदै राजनीतिक जीवन अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादीत अंश :

नेत्रविक्रम चन्द विप्लव पार्टीले लिएको एकीकृत क्रान्तिको कार्यदिशा असफल भएको हो ?

कुनै पनि सिद्धान्त ब्यवहारबाट सिद्ध हुने हो । त्यो अभ्यासको चरणमा रहेको छ । त्यो सही वा गलत भन्ने कुरा आगामी दिनले निश्चित गर्छ ।

विप्लवको कति संख्यामा सेना छ ?

क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग सेना हुनु जरुरी हुन्छ । तर मलाई यो विषयमा बोल्नुपर्छ जस्तो लाग्दैन । मिडियाबाजी र हल्ला धेरै भएका छन् ।

विप्लव समूह परित्याग गरेपछि अब कुन पार्टीमा लाग्नुहुन्छ ? विप्लवकै योजनामा पार्टी छोडुनुभएको त होइन ?

मेरो त्यस्तो कुनै पनि रणनीति र रहस्य छैन । राजनीति बक्ररेखामा हुन्छ । यो सर्पको चालमा होइन भ्यागुताको उफ्राईको जस्तो चाल हुन्छ । विप्लवको योजनामा पर्ने मान्छे म पक्कै होइन । पार्टीका समग्र विषयमा असन्तोष जागेपछि स्वतन्त्र वामपन्थी बनेको छु । तपाईंले भनेझंै विप्लव समूहबाहेक अन्य क्रान्तिकारी पार्टीलाई समर्थन गर्न नसकिने होइन । तर तत्काल त्यो स्थिति छैन । पछि कुनै पार्टीसँग आवद्व पनि हुन सकिन्छ ।

पार्टीले तपाईंलाई किन कार्वाही गर्यो ?
मलाई कार्वाही गरेको होइन । पार्टीका धेरैजस्तो योजनाहरु चुहिएको भन्दै पार्टी चुस्त र दुरुस्त पार्न पार्टीमा शुद्धिकरण अभियान सञ्चालन गरेको हो । छ महिनाको लागि सबैको तह घटुवा गरेको यथार्थ हो । तर पाँच महिनासम्म पनि कुनै पनि जिम्मेवारी र सम्पर्क रहेन । साथै, नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दे आइरहेकोमा पार्टीका पछिल्लो योजना र समग्र विषयमा सहमति हुन सकिनँ । पुनः पार्टीले पोलिटब्युरो सदस्यको जिम्मेवारी दिन सक्थ्यो तर योजना र समग्र विषयमा नै असहमति भएपछि पार्टीसँग नाता कायम गराइराख्नु जायज भएन ।

तपाईंले काठमाडौंमा चन्दा उठाएर घर सम्पत्ति जोड्नु भयो भन्ने आरोप छ नि ?

म पार्टीको वरिष्ठ पोलिटब्युरो सदस्य । कँहीकतै अनुचित कार्य गरेको छैन । अवैध रुपमा घर किनेको छैन । त्यो वैध नै हो । मेरो पैतृक सम्पत्ति सुर्खेत रेडियो नेपाल भन्दा पश्चिममा जुम्ला राजमार्गसँगै ढलान घरसँगै दुईकठ्ठा दुई धुरको खेत एक करोड बीस लाखमा जुम्लाको व्यापारीलाई बेचेर यहाँ ८० लाखको घर किनेको तीन वर्षजति हुन लाग्यो । मैलै चन्दाको रुपमा एक पैसा पनि लिएको छैन । कतै अनुचित कार्य गरेको ठहर भए कार्वाही भोग्न तयार छु । त्यो चुनौती आरोप लगाउनेलाई दिन चाहन्छु । छोराहरु झन्डै बेपत्ताको स्थितिमा सेनाले पु¥याएको थियो । बरु मैले धेरै गुमाएँ । केही पाएको छैन । भएको पैतृक सम्पत्तिमा त्यसरी गिद्देदृष्टि लगाउनु हुँदैन ।

तपाईंले पार्टी सदस्यता दिनुभएका लेखराज भटट् अहिले मन्त्री हुनुभएको छ । धर्मेन्द्र बास्तोला विप्लव समूहको उपल्लो तहमा हुनुहुन्छ । यो देख्दा कहिलेकाहीँ राजनीतिप्रति बितृष्णा जाग्दैन ?

हो, उहाँहरुले त्यो स्थानमा पुग्नु राम्रो हो । आ–आफ्ना व्यवस्थापन गर्नुभएको छ । त्यसमा म अति खुशी छु ।

विप्लव समूहले किन पार्टी माथि उठाउन सकेन ? 

हामीले पूरानै पाराले क्रान्ति उठाउन नसक्ने निष्कर्ष गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका अहम प्रश्नलाई समाधान गर्नका लागि पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति रोल्पाको थवाङबाट प्रतिपादन ग¥यौं । नयाँ कार्यदिशा भएन भने गन्तब्यमा पुग्न सकिँदैन । तर पछिल्ला निर्णय र योजनाहरु ब्यवहारिक रुपमा सफल हुन सकेनन् ।

परित्याग गरेको पार्टीका नेता विप्लव र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई के सुझाव दिनुहुन्छ ?

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बधाई दिन चाहन्छु । उहाँलाई माओवादी कम्युनिष्ट आन्दोलनका मूल्य मान्यतालाई पुरा गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका अहम प्रश्नलाई समाधान गर्दै जाने अभिभारा झन् थपेको छ ।
यही कुरा बुझेर उहाँले नेतृत्व गर्नुहुनेछ । सहयोद्धा प्रचण्डजीले जनतामा छाएको निराशालाई बुझेर जनताको मन जित्नुपर्छ र नेत्र विक्रम चन्दको नेकपालाई प्रतिबन्ध हटाएर, जेलमा परेका नेता कार्यकर्तालाई रिहा गरेर वार्ताको वातावरण बनाउन सकियो भने विप्लवजीको पार्टी पनि एकतामा आउन बाध्य हुन्छ ।

अन्त्यमा, केही भन्नु छ कि ?

अहिले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्बन्धमा राष्ट्रियताको मुद्दा सबै पार्टी, सरकार र जनताको एकमत रहेकाले केपी ओली सरकारले समाधान गरेर भूमि फिर्ता लिन जरुरी छ ।

यस्तो छ कृष्णप्रसाद धमला ‘गम्भीर’को राजनीतिक जीवन :

सुर्खेत जिल्लामा क्रान्तिकारी कम्युनिष् नेता धमला वि.सं. २०३५÷३६ सालदेखि अनेरास्ववीयू छैठांैबाट विद्यार्थी आन्दोलनमा होमिए । वि.सं २०३८ सालमा जयगोविन्द साहबाट पार्टी सदस्यता लिँदै चौथो एकीकृत महाधिवेसन, मशाल, एकता केन्द्र, नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), मोहन वैद्यको नेकपा–माओवादी हुँदै नेत्रविक्रम चन्दको नेकपा सम्मको यात्रा गरे ।

नेपाल सरकारको कृषि मन्त्रालयमा नायब सुब्बा प्राविधिक सहायकको राजीनामा दिएर उनी वि.सं २०५३ सालमा भूमिगत भए । २०५३ देखि भूमिगत केन्द्रीय आधार इलाका रोल्पाको थवाङमा केन्द्रीय कृषि विभागका इन्चार्जमा भए । रोल्पा क्षेत्रमा कृषि क्रान्ति गर्ने क्रममा व्यवहारिक रुपमा आधुनिक पशुपालन र तरकारी खेती गर्न उनले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

वि.सं २०६२ सालको रुकुमको चुनवाङ बैठकका प्रस्तावित केन्द्रीय सदस्य, जनयुद्धमा सुर्खेत जिल्लामा वरिष्ठ क्षेत्रीय ब्युरो सदस्य हुँदै जिल्ला इञ्चार्ज/सचिवको पदमा ६२ देखि ७१ सालसम्म रहे । उनी एकीकृत नेकपा (माओवादी) को केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य पनि भए । सोही क्रममा भेरी कर्णाली ब्यूरोका सहइञ्चार्ज समेत बनेका थिए । पार्टी फुटसँगै नेकपा–माओवादीका केन्द्रीय सदस्य भए ।

उक्त पार्टी पनि दुई चिरा भएसँगै विप्लवको नेकपामा पोलिट्ब्युरो सदस्यमा निवार्चित र केन्द्रीय स्कूलिङ विभाग इञ्चार्ज भए । वि.सं २०७५ साउन १० गते थानकोटबाट सातांै केन्द्रीय समितिको बैठकमा उपत्यका ब्युरो इञ्चार्जमा नियुक्त र लगत्तै गिरफ्तार । देशका विभिन्न हिरासतमा तीन महिना जेल यापन गरेका कृष्ण धमला पार्टीमा गम्भीरको उपनामले चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज कोही फुत्त राजनीतिमा निस्किएर प्रणालीलाई गाली गरेर मात्रै हुँदैन : पूर्वराष्ट्रपति भण्डारी (अन्तरवार्ता)

काठमाडौं । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति

सङ्घीयताबारे अहिले नै सफल असफल भनेर मूल्याङ्कन गर्ने बेला भएको छैन: पूर्वराष्ट्रपति यादव(अन्तरवार्ता)

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी

रेमिट्यान्सको मात्र कुरा गरेर हुँदैन, यसलाई अवसरमा पनि रुपान्तरण गर्नुपर्छ(अन्तरवार्ता)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र

दूरदर्शी नेतृत्वले कसरी देशको भविष्य बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण कोरियाले दिन सकेको छ

काठमाडौँ । सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये