विज्ञान र प्रविधिमार्फत समाज रुपान्तरण



-डा. रविन्द्रप्रसाद ढकाल

नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आवद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात गरेको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ ।

नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । विसं २०७६ मा ल्याइएको राष्ट्रिय विज्ञान प्रविधि र नवप्रवर्तन नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरुलाई समेट्ने प्रयास गरेको छ । आर्टिफिसियल इन्टिलिजेन्स (एआई), नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इन्जिनियरिङको अधिकतम् उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यवसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रुपमा लिइएको छ ।

नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्थापनादेखि निरन्तर रुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू–सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुनेछ । प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गर्न विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भैसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ ।

मुलुकमा विज्ञान र प्रविधिको प्रवद्र्धनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले स्थापनाकालदेखि विज्ञान तथा प्रविधिलाई विकाससँग आवद्ध गरी यसको लाभ र उपलब्धिलाई आम जनतामा प्रवाह गरी गुणस्तरीय जीवन हासिल गर्नेमा जोड दिँदै आएको छ । जनताको आवश्यकता र समाज परिवर्तनका लागि वैज्ञानिक अध्ययन र क्रियाकलापहरु सञ्चालनमा विशेष जोड दिँदै नास्टले आफ्ना गतिविधिहरु समाज केन्द्रित गरेर अगाडि बढाइरहेको छ । विश्लेषणात्मक सेवा केन्द्रमार्फत जीवनका हरेक आवश्यक विश्लेषणात्मक कार्यमा जनतालाई सेवा पुर्याउने कार्यमा विज्ञानमा आधारित भई आफ्नो सङ्काय र केन्द्रहरु स्थापना गरिएका छन् ।

नास्टको स्थापना भएको चार दशक भैसकेको छ । विज्ञान र प्रविधिको विकास गर्न नास्टले आफ्नो भूमिका अब फरक ढङ्गबाट निभाउन जरुरत भैसकेको पनि देखिन्छ । तसर्थः आफ्नो चार दशक अगाडि बनाइएको संरचनामा परिमार्जित गर्नु आवश्यक भएको महसुस नास्टले गरेको छ । यसैलाई मनन गरी नास्टको संरचना परिमार्जन गर्दै यसका गतिविधिलाई अझ सशक्त ढङ्गबाट अगाडि बढाउन यसका उद्देश्य र संरचना पुन परिभाषित र परिमार्जन गर्न मन्त्रालयको प्रतिनिधि सहित विभिन्न प्राज्ञिक संस्थाका प्रतिनिधिहरु सम्मिलित भएको एक संरचना परिमार्जन समितिमार्फत कार्य अगाडि बढाइ रहेको छ ।

विज्ञान प्रविधि क्षेत्रको कार्य अन्तरसम्बन्धित भएको हुँदा विभिन्न सङ्घसंस्थाहरु बीच सहकार्य र समन्वयनमा मात्र सम्भव छ । एकल संस्थाको प्रयासबाट मात्र सफलता प्राप्त गर्न कठिन हुने हुन्छ । नास्टले यस कुरालाई मनन गरी राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य र समन्वयन गरी आफ्नो गतिविधि सञ्चालित गरिरहेको छ । पछिल्लो चार वर्षमा करिब चार दर्जन सरकारी, गैरसरकारी, विभिन्न स्थानीय तह, मन्त्रालय, अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समझदारीपत्र र सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्य र समन्वयमा वैज्ञानिक गतिविधिहरु अगाडि बढाएको छ ।

हालै प्रधानमन्त्रीले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन समुद्घाटन गर्नुभएको छ । यसले अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानका परीक्षणहरू र नतिजाहरु निस्कने वातावरण सिर्जना हुनेछ । प्रविधि विकास भवनबाट प्रविधि विकास र हस्तान्तरणमा सहज हुने, प्रयोगशालाको विकास हुने वातावरण निर्माण गर्न टेवा पुग्ने तथा बायोमेडिकल रिसर्च ल्याबोरेटरी नेपालका औषधिजन्य गुण भएका र औषधि विकास गर्न आवश्यक पर्ने परीक्षणहरु गर्न सहयोग पुग्नेछ ।

विज्ञान र प्रविधिको कुनै सीमा हुँदैन । एक ठाउँको अनुसन्धान र आविस्कार अर्को ठाउँमा सजिलै उपलब्ध र उपयोगी हुने हुँदा विकासको गति विश्वमा अद्भूत रुपमा भैरहेको छ । नास्टले पनि विज्ञान कुटनीतिमा विश्वास राखी विज्ञान कुटनीतिलाई प्रयोग गरी नास्टको समुन्नति र विज्ञान प्रविधि क्षेत्रका विकासमा अग्रसर हुने खालको गतिविधिलाई बढवा दिंदैछ । कोरिया सरकारको एनआइए संस्थाको सहयोगमा नास्टस्थित इन्फरमेशन एक्सेस सेन्टर स्थापना गरी सूचना र सञ्चारसम्बन्धी ज्ञान विद्यार्थी र इच्छुकहरुलाई दिदै आइरहेको छ । नास्टले आफ्नो गतिविधि सञ्चालन गर्दा समावेशीतालाई विशेष ध्यान दिएको छ । युवा वैज्ञानिक फोरम र महिला वैज्ञानिक फोरम स्थापना गरी युवा र महिला वैज्ञानिकको क्षमता अभिवृद्धि गर्ने र युवा एवं महिला वैज्ञानिक र प्राविधिकलाई सहयोग र प्रोत्साहन गर्ने खालका गतिविधिहरु सञ्चालनमा नास्टले सहयोग पु¥याउँदै आएको छ । विज्ञान विषयका विद्यार्थीदेखि शिक्षकसम्म युवा नवप्रर्वतनदेखि विश्वविद्यालयका अनुसन्धान कर्तासम्मलाई विभिन्न ढङ्गबाट सहयोग पु¥याउँदै आएको छ । विभिन्न संस्थागत प्रतिनिधित्व हुने गरी १६ वटा उपसमितिहरुमार्फत नास्टका गतिविधिमा सहभागी हुने अवसर पनि प्रदान गरिएको छ ।

नास्टले आफ्नो समुन्नतिमा पनि ध्यान दिंदै विज्ञान प्रविधि क्षेत्रको अनुसन्धानमा जोड दिएको छ । ं रेडियसनसम्बन्धी अध्ययनलाई सहयोग पु¥याउन बन्करसहित अनुसन्धान भवन निर्माण गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै आफूले दिइरहेको सेवालाई एकीकृत गरी सहज र प्रभावकारी ढङ्गबाट सर्वसाधारण, सङ्घसंस्थालाई विश्लेषणात्मक सेवा एकै ठाउँबाट दिन विश्लेषणात्मक सेवा केन्द्रको थालनी नास्टले गरेको छ । ४०० मेगाहर्जको एनएमआर, सिएचएनएस एनालाइजर, एलसी–एमएस, जिसी–एमएस जस्ता अत्याधुनिक उपकरणहरुसहित नाष्टस्थित प्रयोगशालालाई अत्याधुनिक एवं समुन्नत पनि बनाइएको छ । प्रत्येक प्रदेशमा एक÷एक वटा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य समेतलाई अगाडि बढाई हालसम्म चारवटा केन्द्र स्थापना भइसकेको छ भने अरु दुई तत्कालै खोल्ने प्रक्रियामा रहेका छन् । एक शाखा भने प्रयोगशालामा रुपान्तरण हुने प्रक्रियामा रहेको छ । नास्टले आफ्ना गतिविधि सञ्चालन गर्दा सिर्जनशीलतामा जोड दिएको छ । नास्ट अवस्थित सातदोबाटोदेखि गोदावरीसम्ममा करिब ११ किमि सडकका वरिपरि रहेका वैज्ञानिक सङ्घसंस्थासँग सहकार्य गरी विज्ञान शहरको अवधारणा विकास गरेको छ । यसबाट विज्ञान र प्रविधिप्रति रुचि सर्वसाधारण र विद्यार्थीमा बढाउन एवं विज्ञान प्रविधिसम्बन्धी जानकारीमूलक भ्रमण गर्ने अवसर प्राप्त हुन्छ । नास्टले आफ्नो हाताभित्र विज्ञान र प्रविधि र नवप्रवर्तन पार्क अर्थात विज्ञान पार्कको अवधारणा विकास गरी कार्य अगाडि बढाएको छ ।

विज्ञान प्रविधिको विकासमा फड्को मार्न नसकेका कारण आज देशबाट धेरै युवा प्रतिभाहरु विदेश पलायन भएका छन् । राज्यको सर्वाङ्गीण विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिको समुचित उपयोग गर्नसक्ने क्षमताको अभिवृद्धि गर्नु जरुरी हुन्छ । नास्टले वैज्ञानिक सङ्घ÷संस्थाहरुलगायत वैज्ञानिक र प्राविधिकहरुलाई वैज्ञानिक क्रियाकलापमा सहयोग गर्न कार्यविधिहरु निर्णय गरी क्रमश सहयोगमा वृद्धि गर्दै लगेको छ । पिएचडी र स्नातकोत्तरका विद्यार्थीलाई शोधपत्र तयार पार्न आर्थिक सहयोग गर्नुका साथै अनुसन्धानकर्ताहरुलाई अनुसन्धान वृत्ति प्रदान गर्ने गरेको छ । यस्तै विद्यार्थीहरुलाई अनुसन्धान गर्न विज्ञान र प्रविधि संकायमार्फत सञ्चालित प्रयोगशाला उपलब्ध एवं सुपरीवेक्षण गर्ने व्यवस्था मिलाइएको छ । युवा पलायनलाई रोक्न, अनुसन्धानमा अभिमुखीकरण गर्न र राष्ट्रको समस्या नजिकबाट नियाल्न सहयोग पनि पुगोस् र युवाहरुलाई रोजगारीको अवसर पनि जुटोस् भनेर रिसर्च असिस्ट्यान्ट, रिसर्च फलो, एशोसियट रिसर्च फेलोजस्ता अनुसन्धान वृत्ति कार्यक्रमहरु सञ्चालन गरी अनुसन्धानकर्मीलाई अवसर सिर्जना गरिएको छ । चालिस वर्षभन्दा कम उमेरले एशोसियट नास्ट फेलो, विशिष्ट अनुसन्धानकर्मी र विज्ञलाई एमिनेन्ट नास्ट फेलो दिने व्यवस्थाले विज्ञहरुलाई अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने अवसर पनि नास्टले प्रदान गर्दै आइरहेको छ ।

विज्ञान तथा प्रविधि प्राथमिकतामा परेको भएपनि लगानीमार्फत सुनिश्चित गर्न सकेका छैनौं । पर्याप्त बजेट नहुँदा नयाँ अनुसन्धान गर्न सकिएको छैन भने गरिएका अनुसन्धानका आधारमा प्रविधिको विकास हुन सकेको छैन । अर्को मुख्य चुनौतीका रुपमा जनशक्तिको पलायन मुख्य बनेको छ । हामीसँग विज्ञान प्रविधिका क्षेत्रमा गहिरो ज्ञान र अनुभव भएका पर्याप्त जनशक्ति भएपनि उनीहरुलाई परिचालन गर्न आर्थिक, प्राविधिक र संस्थागत संरचनाको अभावले सकेका छैनौं । त्यस्तै विज्ञान कुटनीतिलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउन सकिएको छैन ।

विज्ञान बिना विकास सम्भव छैन । हाम्रोजस्तो विकाशोन्मुख देशमा विकासका लागि विज्ञान हुनु आवश्यक छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । त्यसैले नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रुपमा नेपाली समाजमा स्थापित गर्दै आएको छ । वैज्ञानिक अनुसन्धानबाट प्रतिपादन ज्ञान र परम्परागत एवं उदीयमान प्रविधिका उपलब्धिलाई आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित गर्ने तथा देशमा उपलब्ध प्राकृति स्रोत साधनको वुटिमत्तापूर्वक उपयोगमा जोड दिनु पर्ने देखिन्छ । विज्ञान तथा प्रविधिलाई उत्पादनको साधन तथा विकासको पूर्वाधारको रुपमा अंगीकार गरी यस क्षेत्रमा राज्यको लगानी उल्लेख्य वृद्धि गरी अनुसन्धान तथा प्रविधिमा प्राथमिकता दिनु आवश्यक छ ।

जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ । स्वच्छ वातावरण, स्वास्थ्य खाद्य, आवास, पूर्वाधार, सूचना–सञ्चार, शिक्षा र सामाजिक सुरक्षालगायतका विषयमा विज्ञान र प्रविधि र नवप्रवर्तनात्मक कार्य गरी सुखी एवं समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउन आवश्यक छ । उदीयमान प्रविधिको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै नवप्रवर्तनलाई दिगो विकासका लक्ष्यसँग तादम्यता गर्नेतर्फ हाम्रो प्रयासहरु केन्द्रित हुनुपर्ने छ । आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्ने कार्य भइरहेको छ । देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी रणनीतिक योजनाहरूको खाका तयार गरिनेछ । नेपालको हालको मुख्य समस्या भनेको फोहोरमैला व्यवस्थापन, गुणस्तरीय मलको अभाव, ऊर्जाको विविधीकरण, जडिबुटीको उपयोग र प्रशोधन, वन पैदावरको उचित प्रयोग आदि नै हुन् र त्यसमा पनि हामी चुकेको युवा पलायन रोक्न र सम्बन्धित प्रविधिको प्रयोग गरी सकारात्मक सन्देश प्रवाह गर्न नसक्नु नै हो । देश छाडेर विकास हुँदैन, नकारात्मकतालाई प्रोत्साहन गरेर पनि व्यक्तिगत प्रगति हुँदैन । त्यसैले सिर्जनशील युवा विकासमा केन्द्रित हुन विज्ञान र प्रविधिप्रति आकर्षण थपेर सकारात्मक समाज निर्माण गर्नु आजको आवश्यकता रहेको छ ।

(नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सदस्यसचिव डा रविन्द्रप्रसाद ढकालसँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने