के बहिष्कारले संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाललाई समाप्त गर्न सक्छ?
आफूहरुप्रति बहिष्कार एकदमै प्रभावकारी हुने अनुभव फेसबुकले गरिरहेको जनाएको छ । अठारौँ शताब्दीको अन्त्यमा दासता उन्मूलनवादी आन्दोलन चलेको बेला ब्रिटिश नागरिकलाई दासले उत्पादन गरेका सामानहरू खरिद नगर्न प्रोत्साहन गरिएको थियो । लगभग तीन लाख मानिसले चिनी किन्न छाडेपछि दासत्व उन्मूलनका लागि दबाव परेको थियो ।
पछिल्लो पटक ’नाफाका लागि घृणा फैलाउन रोक’ अभियानको रूपमा बहिष्कारलाई माध्यम बनाएर नयाँ आन्दोलन चलिरहेको छ । यो अभियानले फेसबुकले जतिवादी र घृणायुक्त सामग्रीहरू हटाउन पर्याप्त कदम नचालेको दाबी गरेको छ । उक्त अभियानले ठूला कम्पनीलाई फेसबुकमा विज्ञापन रोक्न मनाएको छ। पछिल्लो पटक फोर्ड, एडीडास र एचपी कम्पनीले फेसबुकलाई दिइरहर्को विज्ञापन रोकेका छन् । यसअघि कोकाकोला, युनीलीभर र स्टारबक्सले त्यस्तै निर्णय गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार गएको मे महिनामा माइक्रोसफ्टले फेसबुक र इन्स्टाग्राममा विज्ञापन दिन बन्द गरेको थियो । ‘अनुपयुक्त सामग्री’ प्रति चिन्ता व्यक्त गर्दै माइक्रोसफ्टले सो कदम चालेको बीबीसीले पुष्टि गरेको छ । पछिल्लो बहिष्कारले फेसबुकलाई क्षति पुर्याउने देखिन्छ किनभने फेसबुकको अधिकांश आम्दानी विज्ञापनबाटै हुने गर्छ ।
एभिभा इन्भेस्टर्सका डेभिड कम्मिङ्सले बीबीसीको टूडे कार्यक्रमलाई विश्वासको सङ्कट र नैतिक संहिता नभएको ठानिएका कारण फेसबुकको व्यापारलाई समाप्त गर्न सक्ने बताए । केही साता अगाडि फेसबुकको सेयर मूल्य आठ प्रतिशतले खस्केको थियो जसले सैद्धान्तिक रूपमा उक्त कम्पनीका प्रमुख कार्यकारी मार्क जकरबर्गलाई छ अर्ब पाउन्ड नोक्सान भएको भन्न सकिन्छ । तर यो नै फेसबुकको लागि दीर्घकालीन रूपमा अस्तित्वको सङ्कट सृजना गराउने विषय बन्न सक्छ कि सक्दैन भन्ने अस्पष्ट छ ।
यो समाजिक सञ्जालविरुद्ध गरिएको पहिलो बहिष्कार होइन। घृणा फैलाउने भिडिओका बीचमा विज्ञापन राखिएपछि सन् २०१७ मा प्रमुख ब्रान्डहरूले यूट्युबलाई विज्ञापन नदिने घोषणा गरेका थिए । त्यसपछि यूट्युबले आफ्नो विज्ञापन नीतिमा परिमार्जन गर्यो र त्यसको तीन वर्षपछि उसले राम्रै गरिरहेको छ ।