शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको पुष्टि भयोः माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार आन्दोलनरत पक्षका माग सम्बोधन गर्नुको सट्टा उल्टो बाटोमा हिँडेको निष्कर्ष निकालेको छ ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकार समाधानतर्फ नगई जटिलता बढाउनेतर्फ अघि बढेको निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । उनले प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसद्बाट पारित गराउन सबै सांसदहरूलाई सक्रिय हुन निर्देशन दिए ।
शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसदबाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरेका छन् ।
प्रचण्डले अघिल्लो संसद अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे । उनले यसलाई लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजयको रुपमा बैठकमा व्याख्या गरेका थिए ।