हौसिनुको गन्तव्य के ?



-डा. गोविन्दशरण उपाध्याय ।

हामी नेपालीहरू हौसिन्छौँ, तम्सिन्छौँ रौसिन्छौँ । कुन ठाउँमा कसरी हौसिन पर्छ, रौसिनु पर्छ र तम्सिनु पर्छ – हामी धेरैलाई थाहा नै हुँदैन । हाम्रो हौस्याई तत्थ्यमा भन्दा पनि भावनामा बढी हुन्छ । उदाहरणका लागि जव कुनै नया राजनीतिक व्यक्तित्वको आगमन हुन्छ, हामीलाई लाग्छ, उसले हाम्रो जीवनलाई १८०’ डिग्रीनै परिवर्तन गरिदिने क्षमता राख्छ ! हामी उक्त व्यक्तिलाई देवत्वकरण गर्छौं । उसका हरेक क्रियाकलापलाई आँखा बन्द गरेर समर्थन गर्छौं ।

आफ्नो र अर्काको विकास बुझ्न राजनीतिको पण्डित हुनुपर्दैन । उन्नति र अवनति दूवै आफ्नै जीवनमा र छिमेकमा अनुभव गर्न सकिन्छ । कसैसंग पनि जादुको छडी हुँदैन । परिवर्तनलाई समय लाग्छ । परिवर्तनका लागि सहयोग चाहिन्छ । परिवर्तनका लागि सहयोग गर्ने र नगर्ने व्यक्ति वा समाजको चरित्रमा भर पर्छ । परिवर्तनलाई स्वीकार्य बनाउन सक्ने व्यक्तित्व भएको नेतृत्व सफल हुन्छ । नसक्ने नेतृत्व सिद्धान्तको भारी देखाउंदै अर्कामा दोष थोपर्छ ।

नेपाली समाजको चरित्र नै हौसिने र “सहयोग प्राप्त नभएर थेचिने“ भएको छ । सिस्टम–निर्माणमा कुनै पनि नेतृत्वको अभिरुचि देखिन्न । ‘हौसिने र थेचिने’ उपक्रम चलिरहेको छ । राजनैतिक संसारमा आफ्ना बाहेक सबै आलोच्य छन् । यस्तो आलोचनामा असल, कमसल र खरावका विचमा कुनै भिन्नता छैन । असल र खरावका सीमारेखाहरू निकै न्यून छन् ।

अहिले ‘मौलिकता र परिचय’ यी दुई विषयहरूले नेपाली आत्माहरू निकै हौसिन्छन् । ठीक–बेठीक एकातिर राखेर मनन गर्दा लक्ष कसैसंग छैन । विरोधी र समर्थकमा एउटा समानता छ – दूवै हौसिन्छन् र दूवैसंग विकास र विनाश दूवैका तत्थ्य छैनन् तर अवरोध, विनाश र घृणा छ । अर्कोलाई दोषी देखाउने र आफुलाई असल देखाउने पूर्वाग्रह छ । जव मान्छेमा लक्ष विहिन स्वतन्त्रको मांग बढ्छ वा लक्ष नै देख्दैन, हौसिनको विकल्प रहन्न । लक्ष विहिन व्यक्ति र समाज दुवैसंग ‘हौसिनु’ बाहेक कुनै सक्रियता हुँदैन ।

राजनैतिक स्वार्थले मान्छेलाई सबैभन्दा बढी हौस्याईरहेको हुन्छ । प्रत्येक स्वासप्रश्वासलाई ‘डलर’मा नाप्न सकिने प्रणाली हुँदाहुँदै पनि राजनैतिक नेतृत्वले आफ्नो पेशा खुलाउँदैन । ‘नाप्ने र देखिने’ प्रणाली विरुद्ध प्रत्यक्ष रूपमा नै आफ्नाहरूलाई हौस्याएर अवरोध उत्पन्न गर्छ । राजनैतिक रूपमा हौस्याएको व्यक्ति वा समुदायले केवल त्यही कुरालाई सत्य ठान्छ, जुन नेतृत्वलव सत्य हो भन्दै पस्केको हुन्छ ।

राष्ट्रवादबाट हौस्याएका अमेरिकी जनताले ट्रंपलाई राष्ट्रपति बनाएका छन् । गरिवीले अत्तालिएका र निरन्तर उन्नत जीवनको खोजीमा रहेका नेपाली जनताले हौसिएर ‘उदारवादको अभिनय गरेका कट्टरवादी’हरूलाई नेपालको सत्तामा बसालेका छन् । एकातिर हौसिएर सत्तामा पठाउने अर्कोतिर थेचारिएर हरेक चिया पसलमा बद्ख्वाई गर्नु नेपालीको भाग्य बनेको छ । नेतृत्व र भोटर दूवैको गन्तव्य ‘भाग्य’मा आधारित छ । हौसला छ तर त्यो हौसलासहित नेतृत्व गर्नेहरूको लक्ष ‘हिड्दै जाउँ. जहाँ पुगिएला’ भन्नु बाहेक अर्को लक्ष छैन ।

आज सम्म कुनै पनि नेतृत्वले ‘मैले गल्ती गरें, हामीले गर्न सकेनौं’ भनेर क्षमा मागेको कुनै उदाहरण छैन । अनन्तः डुब्नेहरू सर्वसाधारण नै हुन् । लक्षविहिन नेतृत्वले कहिलै पनि पश्चाताप गर्दैन, आफ्नो गल्तिका लागि क्षमा याचना गर्दैन । उल्टो, आफ्नो बचाऊ गर्न आफ्नाहरूलाई उचाल्छ । हरेक नेपालीहरू यस्तो हौसलाको सिकार भएका छौँ । दोष दिनेहरू दिन छोड्दैनन् र जसले दोष लिनु पर्ने हो उनीहरूसंग दोष स्वीकार गर्ने र त्यसबाट सिक्ने माइन्ड–सेट नै छैन । लाग्छ, ल्याबमा राखिएको मूसाझैं हामी प्रयोगका वस्तु भएका छौँ ! नयाँ आउँछन्, सपना देखाएर होस्याउँछन् र विचबाटोमा छोडेर जान्छन् ।

सायद, अव समय आएको छ – हामी सबै नेपालीले ‘हौसिने–रौसिने’ आफ्नो स्वभाव वारे समीक्षा गर्नु पर्छ । देशमा थुप्रै विश्वविद्यालय हुँदाहुँदै पढ्नको नाममा विदेशिन हौसिने, डाटाहरूको अध्ययन नगरी नयाँ विजनेश गर्न हौसिने, विचार नै नगरी अर्काको आलोचना र समर्थन गर्न तम्सिने, गोरू बेचेको समेत साइनो नभएका वैचारिक जालहरूलाई हौसिएर समर्थन गर्ने र मोडर्ननीटीका नाममा “नक्कल“ गर्ने हौसिने आफ्नै प्रवृत्तिमा विवेकीय लगाम लगाउनु पर्छ । हौसिनु, तम्सिनु भन्दा पहिला एकैछिन विवेकको प्रयोग गर्नेतिर ध्यान दिनु पर्ने बेला भएको छ । नत्र ल्यावको मूसा र मेरो भाग्यमा कुनै फरक हुने छैन । हामी हौसिन्छौँ राम्रो कुरा हो तर हाम्रो अति हौसिने, तम्सिने र रौसिने बानी नै हाम्रो लागि अभिशाप त भएको छैन ? विचार गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित

प्रहरी प्रधान कार्यालयद्वारा ३७ जना एसपीको पदस्थापन, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ