पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन
गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरेका छन् ।
कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गरेका हुन् ।
सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरूरी रहेको र अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राखे ।
“पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले आवयक सुविधा प्राप्त गर्नुपर्छ । त्यसका लागि यहाँ रहेको विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिनुपर्छ । पोखराको सुन्दरतालाई जोगाउनका साथै यहाँको समग्र विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ”, सभापति देउवाले भने ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहनेगरी विधानमा व्यवस्था गर्नुुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीको सङ्गठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पुर्याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिहेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने बताए ।