कांग्रेस-एमाले आगामी चुनावसम्म सत्तामा रहे हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड
तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको भन्दै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । ‘जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ’, उनले भने ।
सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए ।